भद्रपुर । सशस्त्र प्रहरीले झापाका सीमा क्षेत्रमा यो बर्ष नौ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने भएको छ ।
झापामा १ सय ४४ दशमलव २ किलोमीटर सीमा क्षेत्र रहेको छ । हाल सशस्त्र प्रहरीका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्विनगर, केचना, घेराबारी, भागडुब्बा, कुञ्जीबारी, गौरीगञ्ज र टाघनडुब्बामा विओपी स्थापना भइसकेका छन् । यो बर्ष प्रहरीले तिरीङ्, नकलबन्धा, सतीघट्टा, ज्यामिरगढी, भद्रपुर, महेशपुर, पाठामारी, पन्थापाडा र आँपगाछीमा स्थापना गर्न लगेको सशस्त्र प्रहरी २ नम्बर गण झापाका एसपी रमेश कुमार पाण्डेले बताए ।
स्थापना हुन लगेका विओपीको स्थान भने छोटी भन्सारको जग्गालाइ प्रयोग गरिने छ भने कतै स्थानीयले उपलब्ध गराएका जग्गामा हुने एसपी पाण्डेको भनाइ छ । पहाडी क्षेत्रमा स्थानीयले स्वतःस्फुर्त जग्गा दिएपनि तराइका जिल्लामा यस्तो नभएको उनको भनाइ छ । अन्र्तराष्ट्रिय सीमामा हुने अपराध नियन्त्रण, चोरी तस्करी, हातहतियार, सीमापारी अपराध गरेर नेपाल तर्फको सीमामा आएर लुक्ने, सीमाको व्यवस्था लगायतका विषयलाइ मध्यनजर गरी सो क्षेत्रमा विओपी स्थापना हुने उनको भनाइ छ ।
एउटा पोष्ट स्थापनाका लगि कम्तिमा ७ देखी १० कठ्ठासम्म जग्गा आवश्यक पर्ने उनले बताए । विओपीका लागि सीमा नजिकै हुनु पर्ने र सो क्षेत्र खेतियोग्य जमिन भएकोले जग्गा धनिले दिन नमान्ने अवस्था आइरहेको उनले बताए । सीमामा प्रहरी आएपछि शान्ति सुरक्षा हुने भन्नुको साटो प्रहरी आएपछि झन खतरा बढेर जाने केही पक्षको सोचले गर्दा त्यस्ता क्षेत्रमा जनचेतनाको अभाव भएको उनको बुझाइ छ ।
एउटा विओपीमा ३५ जना हुने र सो का लागि सुनसरीको पकलीमा गण नम्बर ३७ र झापामा गण नम्बर ३८ ले नयाँ विओपीलाइ पूर्ति गर्न रिर्जभ गण स्थापना भएको उनले बताए । सीमामा प्रहरीको पोष्ट स्थापना भयो भने तस्करी गर्न नपाइने भयले पनि जग्गाधनिलाइ उनीहरुले उक्साउने गरेको उनको भनाइ छ ।
सीमामा हुने गतिविधिलाइ ध्यानमा राखेर यो वर्ष नौ र आगामी वर्ष पनि सोही सङ्ख्यामा विओपी स्थापना गरिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । विओपी स्थापनाका लागि जग्गा प्राप्तीको काम धमाधम भइरहेको उनले जनाए ।