भद्रपुर । भारतीय सीमा सुरक्षा बलले औषधी समेत ल्याउन रोक लगाएपछि सीमा क्षेत्रका नेपाली नागरिकले कोरोना भाइरसको महामारीको बेला थप हैरानी बेहोर्नु परेको छ ।
नेपाल–भारत सीमा अन्र्तगत झापाको भद्रपुर–गलगलिया नाकामा तैनाथ भारतीय सीमा सुरक्षा बल ४१ नम्बर बटालियन (एसएसबी)का कारण नेपाली नागरिकले सास्ती पाएका हुन् ।
एक साताअघि सम्म दुवै देशका सुरक्षाकर्मीको सहकार्यमा नेपाली नागरिकले औषधि, कागजपत्र ल्याउन र पठाउन पाइरहेका थिए । भारतीय एसएसबीको भातगाँउ इञ्चार्ज इन्स्पेक्टर रवि कुमारको सट्टामा नयाँ इन्चार्ज असिस्टेन्ट कमान्डर हरजित रे आएपछि उनकै आदेशमा सीमामा तैनाथ एसएसबीले औषधिमाथि रोक लगाएपछि समस्या भएको हो ।
सीमा नाकाबाट कुनै पनि व्यक्तिलाई आवतजावतमा रोक लगाएपनि भारतबाट नेपाल आउने सरसामान भने भन्सार तिरेर ल्याउन दिइएको छ । सीमाका बजार क्षेत्रका अधिकांश नेपाली नागरिक भारतीय औषधिमा निर्भर छन् । त्यसलाई मध्यनजर गरी नेपाल र भारतका सुरक्षाकर्मीले औषधि ल्याउने वातावरण बनाएका थिए । तर एसएसबीका हरिजत रे आएपछि उनले नेपालका सुरक्षाकर्मीको कुरा पनि सुन्न चाहँदैनन् । उनले माथिको आदेश भन्दै नेपाली नागरिकलाई सीमाबाटै औषधि नदिई फर्काइरहेका छन् । औषधि लिन शुक्रबार दिउँसो सीमा नाका पुगेका गौतम सोनारलाई एसएसबीले फर्काइदिएका छन् । भारतीय चिनजानका व्यक्ति औषधि लिएर सीमा नजिकै आइपुगे पनि उनले औषधि लिन नपाएको दुखेसो गरे । उनी मात्र नभई अहिले भारतबाट मगाउने औषधि अधिकांश नेपाली नागरिकले पाउन सकेका छैनन ।
नेपाल भारतको सन्धि विपरीत एसएसबीले आफूखुसी औषधिमाथि रोक लगाउनु नै नेपाली नागरिकलाई दुःख दिन खोजेको स्थानीयबासीहरु बताउँछन् । औषधि एउटा बहाना मात्र भएको स्थानीयको भनाइ छ । केही दिन अघि आफन्तको मृत्युमा भारतबाट आउन खोजेका व्यक्तिलाई नेपाली सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि त्यसैको निहुँ पारेर एसएसबीले नेपालीलाई सास्ती दिन खोजेको उनीहरुको भनाइ छ । यो विषयमा जानकारी लिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । मानिसको आवत– जावत बन्द भएकोले यस्तो समस्या हुनसक्ने उनको भनाइ छ ।