दमक । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पुराना आपराधिक घटनाको फाइल खोलेर छानबिन गर्ने बताएका छन् ।
भर्खरै झापा आएका उनले पुराना घटना कतिको छानविन र अनुसन्धान सकियो, कतिको हुन सकेको छैन र नभएकाको किन हुन सकेन भन्ने विषयमा अध्ययन गरेर सार्वजनिक समेत गर्ने बताए । पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘प्रहरीको हेड क्वाटर र गृह मन्त्रालयबाट पनि यसका लागि परिपत्र आइसकेकाले पुराना फाइलको अध्ययन गरि किनारा लगाउन ध्यान केन्द्रित गर्छु ।’
उनले आफ्नो कार्यकाल सिमा सुरक्षामा बढी केन्द्रित हुने पनि बताए । बुधबार दमकमा पत्रकार भेटघाट गर्दै उनले सिमा सुरक्षा भए आपराधिक घटनामा आधा कमी हुने भन्दै सिमा सुरक्षाकालागि तत्काल ९ वटा सिमा सुरक्षा पोष्ट (बिओपी) निर्माण गरिने समेत उनले सुनाए ।
१ सय ४४.३ किलोमिटर नेपाल–भारतको सिमाना रहेको झापामा अहिले ९ वटा बिओपी रहेको र यो वर्ष ९ वटा स्थापना गरिने उनको भनाई छ । आगामी वर्ष थप ९ वटा बिओपी स्थापना गरि जिल्लामा २७ वटा विओपी स्थापना गरिने जनाएका छन् । यसका लागि प्रदेश र केन्द्र सरकारसँग आफुले छलफल समेत थालेको उनले बताए ।
सरकारका तीन तहकै सहकार्यमा सिमा सुरक्षा गरिने र त्यसका लागि स्थान र संरचना निर्माण गर्न स्थानीयतहहरुसँग छलफल गरिने उनले बताए । अहिले सिमा क्षेत्रमा बिभिन्न समानहरुको तस्करी बढीरहेको, सिमाना मिचिएको तथा नागरिकले सिमानाकै कारण सास्ती पाइरहेको कुराको आफुलाई जानकारी भएको र यो विषय जिल्लाका लागि चुनौतीपूर्ण भएकोले सिमालाई सुरक्षा गर्न सके यी समस्याको हल हुने उनले विस्वास लिएका छन् ।