संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ का मिनेश श्रेष्ठ यत्तिबेला तीतेपाती खेतीमा व्यस्त छ्न् । काठमाडांैमा रहेर ३४ बर्ष थाङ्का चित्र कोरेर बिताएका उनले अहिले खाँदबारी नै फर्केर आफ्नो बाँजो जग्गामा तीतेपाती खेती सुरु गरेका हुन् । उनी यसैबाट मासिक एक लाख रुपैयाँ कमाउँछन् ।
उनले खाँदबारी–१ स्थित दर्शने धारा नजिकै रहेको आफ्नो करिब २० रोपनी र भाडामा २० रोपनी जग्गा लिएर तितेपाती खेती सुरु गरेका छन् । ‘मिनेश तीतेपाती तथा जडिबुटि उद्योग’ नामक व्यवसायीक फर्म दर्ता गरेर नै खेती गरिरहेका उनले १८ हजार रुपैयाँकोे विरुवा लिएर एक वर्ष अगाडि २० रोपनी जग्गाबाट तितेपाती खेती सुरु गरेको बताए । पछि २० रोपनी बार्षिक २५ हजार रुपैयाँ भाडा तिरेर खेती थप गरेको बताए । उनले निरन्तर खेती विस्तार गरिरहेका छन् ।
‘२० रोपनी जग्गामा तीतेपाती रोपौ १ लाख कमाऔँ’ भन्ने अभियानै चलाएका उनी खाँदबारी बजारमा चलिरहेको होटल व्यवसाय बन्द गरेर तीतेपाती खेतीमा लागेका हुन् । एउटा गाई पालेर मल उत्पादन गर्ने उनी जडिबुटीको खेती, प्रसोधन तथा निर्यात गरे मात्र समृद्धि हुने बताउँछन् । आफ्नो बाँजो जग्गामा तीतेपाती मात्र उत्पादन गर्न सके आर्थिक लाभ लिन सकिने उनको अनुभव छ ।
उनले अहिले आर्टिमिसीया र भल्गरिस जातको तीतेपाती खेती गर्दै आएको बताए । खाँदबारी बजारमा नै घर भएका श्रेष्ठले काठमाडौबाट फर्केर होटल सञ्चालन गरे । होटल पनि राम्रै चलेको थियो तर उनलाई होटलमा प्रयोग हुने आयात गरिएका खाद्यबस्तुले कसैको स्वास्थ्यलाई राम्रो गर्दैन भन्ने लाग्यो । त्यसपछि होटल नै बन्द गरे । होटल छोडेर आफ्नै बारीमा यसरी तीतेपाती खेती सुरु गर्दा सुुरु–सुुरुमा मानिसहरुले पागल समेत भनेको सम्झन्छन् । “सुरु सुरुमा तीतेपातीबाट पनि पैसा कमाउने रे, पागल भएछ भने तर विश्व बजार राम्रो भएकाले अहिले सबैको मुखमा बुचो लागेको छ ।” काठमाण्डौमा रहेको यमासो प्रा.लिंबाट तालिम लिएर फर्केपछि उनले खेती सुरु गरेका हुन् ।
उनले अहिले बारीबाट नै प्रतिगोटा १ रुपैँयाका दरले तीतेपातीको विरुवा र प्रतिकेजी ५० रुपैँयाका दरले सुकेको तीतेपाती यमासो प्रा.लि काठमाडौं नै पठाउने गरेका छन् । कम्पनीबाटै वर्षको १० टनको माग भएपनि मागअनुसार पठाउन नसकेको उनले बताए ।
कमाई भए पछि मक्खै
तीतेपाती खेती सुरु गरेको एक बर्ष नवित्दै मासिक १ लाखबढि कमाउन सुरु गरेको श्रेष्ठ बताउँछन् । विरुवा विक्रि तथा सुकेको तितेपाती विक्रि गरेर उनले मासिक एक लाख आम्दानी थालेको उनको भनाई छ ।
खेती सुरु गरेयता ३ सय के.जि मात्र पठाउन सकेको सञ्चालक श्रेष्ठको भनाइ छ । लक डाउन भएका कारण पठाउन समस्या भएको तर स्टोरमा तयारी अवस्थामा रहेको सुकेको तितेपाती लकडाउन खुल्ने वित्तिकै पठाउने तयारी रहेको बताए । उनका अनुसार ढुवानी खर्च समेत व्यहोरेर कम्पनीले तीतेपाती लैजाने गरेको छ ।
अहिले सङ्खुवासभा जिल्लाका विभिन्न क्षेत्रमा विरुवाहरु लैजानेको क्रम बढेको छ । टाढा, टाढाका ग्राहकहरु घरमै आएर बुझेर लाने गरेका छन् ।
आकर्षण बढ्दै
संखुवासभा चैनपुरका टंकबहादुर तामाङ सरस्वती माध्यमिक विद्यालयका शिक्षक हुन् । उनले सामाजिक सञ्जालमा तीतेपातीको व्यवसायका विषयमा जानकारी पाए । उनले सदरमुकाम खाँदबारीमा आएर कृषि फर्म दर्ता गरे अनि खाँदबारी बाटै २ सय विरुवा लिएर रोपेका छन् ।
उनी आम्दानी गर्नेमा विस्वस्त छन् । विद्यालयको समयभन्दा बाँकी समयमा आफ्ना खाली जग्गामा तीतेपाती खेती सुरु गरेका छन् । उनले व्यवसायिक खेती सञ्चालन गर्न सबैलाई सुझाएका छन् । उनले एक पटक रोपेपछि पटक पटक रोप्न नपर्ने भए थोरै समय मात्र दिए पनि आम्दानी गर्न सकिने भएकोले यो खती सुरु गरेको बताए । उनले मात्रै हैन छिमेकी जिल्ला भोजपुर, धनकुटा लगायतका क्षेत्रबाट समेत विरुवा लैजाने गरेको श्रेष्ठ उनको भनाई छ । तीतेपातीबाट नसर्ने रोगहरुको उपचार तथा दैनिक उपभोगमा समेत महत्व रहेको उनको भनाई छ । उनले विश्व बजारमा दिनप्रतिदिन माग बढ्दै आएकाले सम्भावना रहेको बताए ।
श्रेष्ठले तीतेपाती खेती व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्र सङ्खुवासभाबाट ३० हजार रुपैया र डिभिजन बन कार्यालय सङ्खुवासभाबाट ३ लाख रुपैया आर्थिक सहयोग प्राप्त गरेका छन् । तीतेपाती खेति सम्बन्धी अझ स्थानीय सरकारले प्रोत्साहनस्वरुप सहजीकरण गरेमा धेरै युवावर्ग किसानहरु आकर्षित भई आर्थिक उपार्जनका साथै रोजगारी सृजना हुने पक्का छ ।