सुनसरी । इटहरी उपमहानगरपालिका भित्र स्वास्थ्य सेवाको पहुँच पु¥याउने उदेश्यले वार्ड स्तरीय स्वास्थ्य इकाइ स्थापना गरिने भएको छ ।
जस अन्तरगत इटहरी ४ मा आइतबार स्वास्थ्य इकाइ भवनको शिलान्यास गरियो । इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले भवनको शिलान्यास गरे । कार्यक्रममा बोल्दै मेयर चौधरीले इटहरीमा स्वास्थ्यको पहुँच बढाउन नेपाल सरकारको योजना तथा प्रदेश तथा स्थानीय जनताको सहभागितामा उपमहानगरपालिकाले सबै वार्डमा आधारभूत स्वास्थ्यको लागि इकाइ स्थापना गर्ने बताए । ‘यो अभिायानमा इटहरीवासीको साथ र सहभागिता भइनै रहेको छ, यसको निरन्तरताको कामना गर्दछु’ मेयर चौधरीले भने ।
कार्यक्रममा उपमेयर लक्ष्मी गौतमले इटहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई इटहरी अस्पतालका रुपमा विकास गरेसँगै इटहरी र आसपासबाट समेत सेवा लिनेको संख्या बढेको बताइन् । इटहरी अस्पतालबाट डेलीभरी गराउने महिलाको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको उनको भनाई छ । इटहरी स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार इटहरीका १४ वटा वार्डमा स्वास्थ्य इकाइ स्थापना गरिने छ । संघीय सरकार तथा प्रदेश एवम् स्थानीय सरकारको समन्वयमा स्वास्थ्य सेवा नभएका वार्डमा यसै आर्थिक वर्ष भित्रमा स्वास्थ्य इकाइ स्थापना भइसक्ने बताए । ‘टाइप वान र टाइप टु’को मोडालिटीमा इकाइ स्थापना गरिने पनि उनले बताए ।
इटहरी २ मा भने टाइप वान अन्तरगत वर्थिङ सेन्टरको समेत व्यवस्था गरिने बताए । इन्जिनियर जिवन घिमिरेले २८ लाख ६८ हजार २ सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिए । यहि आर्थिक वर्षमा १४वटा भवन निर्माण गरिने छ । अहिले १० वडामा स्वास्थ्य संस्थाहरु रहेपनि ४ वटा भाडाको भवनमा सञ्चालित छन् । सबै वार्डमा प्राविधिकको व्यवस्था भएको पनि उनले जनाए । कार्यक्रममा नेपाली काँग्रेसका नेता कमल राईले वडा वडामा स्वास्थ्य सेवा पुग्नु सुखद् भएको बताए ।