यासोक । पाँचथरमा स्वस्थ्य अवश्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

धनकुटाको चौबिसे गाउँपालिकाबाट तुम्बेवा गाउँपालिकाको मामली घरमा बस्दै आएकी एलिसा लिम्बुलाई तुम्बेवा गाउँपालिकाको पहलमा उद्धार गरिएको हो ।

व्यथाले च्यापेपछि उनि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी थिइन् । तर उनको अवस्था गम्भिर भएपछि स्वास्थ्यकर्मीले अस्पताल लानुपर्ने बताएका थिए । निरन्तरको वर्षाका कारण यातायातका साधन गुडेका थिएनन् ।

पीडित परिवारले गाउँपालिकासंग सहयोगको लागि अपिल गरेको थियो । त्यसपछि गाउँपालिकाको समन्वयमा हेलिकप्टरबाट कोशी अस्पताल बिराटनगर पठाइएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । “गर्भवती महिलाको अवस्था गम्भीर थियो । मौसमको कारणले सडक संजालबाट कुनै उपाय थिएन् थापाले भने,’ जिल्ला प्रशासन मार्फत महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालयसम्म समन्वय गर्यौं । त्यसपछि हेलिकप्टर आयो अनि उनको उद्धार भयो ।’

उद्धार गरिएकी लिम्बुको कोशी अस्पतालमा सफल उपचार भएको छ । आमा र बच्चाको अवस्था राम्रो भएको परिवार श्रोतले जनाएको छ । यसअघि पनि यस्तै गम्भिर अवस्थाकी गर्भवती महिलाको हेलिकप्टरबाटै उद्धार भएको थियो ।

स्थानीयतहमा सुविधा सम्पन्न स्वास्थ्य सेवा नहु“दा सुविधा सम्पन्न अस्पतालसम्म पुग्न बाह्रै महिना यातायात संचालन हुन सक्दैन । यहि कारण दुर्गम क्षेत्रमा गर्भवती महिलाको ज्यान जोखिममा परेको छ । निरन्तरको वर्षादको कारण सडकमा सवारी आवगमन अवरुद्ध भएको छ । बाढी पहिरोका कारण दुर्गम क्षेत्रमा सवारी साधन आवत जावत गर्न सकेका छैनन् ।