बिर्तामोड । असोज १ गते बिराटनगरका एकजना ब्यक्तिले कोशी अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाव दिए ।

झापाको अर्जुनधारामा रहेको सिभिल बैंकमा काम गर्ने उनी असोज ५ गतेसम्म रिपोर्ट पर्खेर घरमै बसे । असोज ५ गतेपनि परीक्षणको रिपोर्ट नआएपछि उनी नियमित काममा फर्किए । ६ गतेदेखि उनी बैंकको शाखामा हाजिर भएर काम सुचारु गरे ।

ब्यक्तिगत रुपमा शुल्क तिरेर परीक्षणका लागि स्वाब दिएको भएपनि कोशी अञ्चल अस्पतालले उनको रिपोर्ट दिएन । उनी झापाको अर्जुनधारामा काम गर्ने भएकाले परीक्षणको रिपोर्ट जिल्ला स्वास्थ्य कार्यालय हुँदै नगर स्वास्थ्य शाखाबाट उनलाई प्राप्त हुने गर्दछ । कोशी अञ्चल अस्पतालबाट प्राप्त गरेको रिपोर्ट सामाजिक बिकास मन्त्रालयले जिल्लामा रहेका स्वास्थ्य कार्यालयर्र्मा फरवार्ड’ गराउने गरेको पाइएको छ ।

सोही क्रममा कर्मचारीबीच तालमेल नमिलेका कारण उनको रिपोर्ट १० दिनपछि मात्र आएको छ । पोजेटिभ रिपोर्ट आएका कारण उनीसाग सम्पर्कमा रहेका अन्य त्रसित बनेका छन् । रिपोर्ट त आयो, त्यो पनि पोजेटिभ, अर्जुनधारा नगरपालिका स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले भनेर्–१० दिनभित्रमा उहाँका सम्पर्कमा आएका मानिसको कन्ट्रयाक्ट ट्रेसिङ गर्न सकिन्छ ?’ सरोकारवाला कार्यालयको लापरवाहीका कारण कोरोना संक्रमण तिब्र हुन थालेको आरोप उनले लगाए ।

‘हामी रातदिन नभनी खटिइरहेका छौं, उपल्लो निकायको यस्तो लापरवाही छ, बस्नेतले भने–‘उहाँहरुले यसरी नै लापरवाही गर्ने हो भने हाम्रो मिहेनतको के अर्थ भयो र ?’ उनले सामाजिक विकास मन्त्रालयबाट उपलब्ध गराएको रिपोर्ट स्वास्थ्य कार्यालयले समयमा नै स्थानीय तहमा रहेको स्वास्थ्य शाखामा फरवार्ड नगरेको हुनसक्ने बताए ।

कोशी अस्पतालले असोज ५ गते संक्रमितको रिपोर्ट सामाजिक बिकास मन्त्रालयलाई पठाएको उल्लेख छ । सामाजिक बिकास मन्त्रालयले सोही दिन जिल्लामा रहेका स्वास्थ्य कार्यालयलाई रिपोर्ट पठायो । स्वास्थ्य कार्यालयले रिपोर्ट सम्बन्धित निकायमा नपठाउँदा संक्रमित ब्यक्तिलाई आइसोलेसनमा पठाउन नसकिएको हो । १५ गते रिपोर्ट आएपछि उनलाई होम आइसोलेसनमा राखिएको बताइएको छ ।

रिपोर्ट पोजेटिभ आएपछि बैंकको शाखा कार्यालय शिल गरेर कन्ट्रयाक्ट ट्रेसिङ शुरु गरिएको नगर स्वास्थ्य शाखा अर्जुनधाराले जनाएको छ । स्वास्थ्य कार्यालय झापाको चरम लापरवाहीका कारण संक्रमित बढेको आरोप लागेको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि पीसीआर गरेका उनको समयमा रिपोर्ट नआउँदा त्रास उत्पन्न भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईँले सामाजिक बिकास मन्त्रालयबाट रिपोर्ट ढिलो आएको दावी गरे । उनले रिपोर्ट आएलगत्तै फरवार्ड गरेको पनि बताए । चम्लागाईँले दोस्रो पटक रिपोर्ट मागेर स्वास्थ्य कार्यालयमा फरवार्ड गरेको श्रोतको दावी छ ।
।।