विजयपुर/ धरान बजारको केन्द्रमा रहेको माछाभौडीदेखि तल्लो लाइन धरान–७ शान्तिपथको खहरेमा छेउछाउका स्थानीय बासिन्दाहरूले फोहोरमैला फाल्दा छिमेकीहरूलाई समस्या पर्दै गएको छ भने सो क्षेत्र कुरूप पनि बनेको छ ।
सुन्दर नगरी धरान बजारको केन्द्रमा नै यस्तो दुर्गन्ध हुँदा पनि सम्बन्धित पक्षले चासो भने राखेको छैन । यसले धरानको सुन्दरतामा नै समस्या आएको छ । धरान उपमहानगर वडा नं. ७ ले सो क्षेत्रमा फोहोरमैला नगर्नू भनेर सार्वजनिक सूचना पनि राखेको छ । सार्वजनिक सूचना राखेकै क्षेत्रमा नै फोहोरमैला फ्याँक्ने गरिएको छ ।
खहरेको पसलमा ठेलामा चट्पटेलगायत व्यापार गर्नेहरूले पनि फोहोरमैला खहरेमा नै फ्याँक्ने गरेका छन् । यतिमात्र नभएर सो क्षेत्रका स्थानीयवासीले चर्पीको निकास पनि खहरेमा लगाएको स्थानीयले बताएका छन् । त्यहाँका स्थानीयवासी गणेश घले भन्छन्, ‘्खहरेको पुलछेउमा ठेला पसल चलाउनेहरूले पनि त्यहाँबाट आएको फोहोरमैला सोही खहरेमा फ्याँक्ने गरेपछि अझ बढी फोहोरमैला हुने गरेको छ ।’ ‘स्थानीयवासीले चर्पीको सेफ्टी ट्याङ्की पनि भरिएपछि यही खहरेमा हाल्छन्’ उनले थपे, ‘कोरोना भाइरसको महामारीमा यसरी बजारछेउको खहरेमा फोहोरमैला भएपछि अन्य रोगको सङ्क्रमण पनि हुन्छ । ’
माछाभौडीमा धरानको गौरव आयोजनाअनुसार पार्क बन्दैछ । पार्ककै छेउमा यस्तो फोहोरमैला गर्नु राम्रो नभएको स्थानीयवासी सन्दीप राईले बताएका छन् । उनले खहरेछेउका स्थानीयवासीले चर्पीको सेफ्टी ट्याङ्की सिधै खहरेमा हाल्ने गरेको बताए । अर्का स्थानीयवासी महेश जैसवालले पनि खहरे आसपासका स्थानीयवासीले फोहोरमैला खहरेमा फाल्नाले विभिन्न प्रकारका रोगहरू फैलने सम्भावना हुनुका साथै कुरूप बनेको बताए ।
यस विषयमा धरान उपमहानगर वडा नं. ७ का अध्यक्ष जीवन सुवेदीलाई बुझ्दा पटक–पटक जानकारी दिएको बताए । ‘हामीले भन्दा हुन्छ भन्छन्, रुँघेर बसिँदैन, नदेख्ने गरी फ्याँक्ने गर्छन्’ उनले भने, ‘पटक–पटक भन्दा नभएर सार्वजनिक सूचना राखेको अझ भएन, अब सम्बन्धित पक्षसँग समन्वय गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।’