भोजपुर । भोजपुर सदरमुकाम देखि टक्सार बिमानस्थल सम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

जिल्लामा पहिलो पटक असफल्ड प्रविधीबाट पाँच किलो मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । सडक निर्माणको काम रायमाझी जगदम्बा मार्सेली जेभीले २०७६ साल बैशाख देखि शुरु गरेको पुर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेडडीले बताए । सडक कालोपत्रेको काम प्रदेश १ सरकारको १६ करोड ९२ लाख लागतमा निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए ।

निर्माण सम्पन्न भएको सडक पखालेर जिम्मा लगाईने ठेकेदार कम्पनी मार्सेली जेभीका प्रमुख श्याम श्रेष्ठले बताए । सडक पिच भए सँगै बर्षौदेखि धुलो र हिलोमा यात्रा गरिरहेका जिल्लाबासी खुसी भएका छन । अहिले हवाई जहाजमा यात्रा गर्ने यात्रुका साथै स्थानियलाई समेत सदरमुकाम आवत जावत गर्न सजिलो भएको स्थानिय मनिशा शाक्यले बताईन । यसै बिच निर्माण सम्पन्न सडकको कार्तिक २३ गते उदघाटन हुने भएको छ । सडक उदघाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ । सडक उदघाटनको कार्यक्रम बिहान ७ बजे तय गरिएको पुर्वाधार बिकास कार्यालय भोजपुरले जनाएको छ ।