धरान । नेकपा निकटको ‘नेपाल भूमिहीन सुकुम्बासी संगठन’ धरान उपमहानगर कमिटिले पार्टीका स्थानीय नेता तथा जनप्रतिनिधिसँग सुकुम्बासीका समस्या समाधान गर्न माग गरेको छ ।
कमिटिले नेताहरुसँग भेटघाट र चियापान कार्यक्रमको आयोजना गरी आफ्ना समस्याहरु सुनाएको थियो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भन्डारीले सुकुम्बासी समुदायको विकासका लागि बाख्रापालन, बंगरपालन, टपरा बुन्ने तालिम दिईने साथै खरका छाना भएका घरमा टिनको छानो लगाउने व्यवस्था गरिने, छुटेका घरलाई नम्बर प्लेन दिने र फोहोर मैला संकलन गर्ने गाडी उदयमार्गसम्म पठाउने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा नेकपा धरान १७का इन्चार्ज जीवन भट्टराईले सुकुम्बासीले घर नम्बर पाउनु पर्ने बताए । संगठनका नगर अध्यक्ष नरेन्द्र प्रसाद राईले नेता तथा जनप्रतिनिधिसँग भेटघाट गरी सुकुम्बासीका समस्या समाधानका लागि पहल गरेको बताए ।