यासोक । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा छोराको स्मृतिमा परिवारले अक्षयकोष स्थापना गरेको छ ।
गाउँपालिकाको वडा नं १ नवमीडाडा स्थीत बालविकास आधारभूत विद्यालयमा स्वर्गिय छोरा गब्बरसिं आङ्देम्बेको स्मृतिमा परिवारले अक्षयकोष स्थापना गरेको हो ।
विद्यालयमा एक कार्यक्रमका बीच आमा गौमती आङ्देम्बेले १ लाख ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन ।
छोरा गब्बर सिं आङ्देम्बेको २०५८ सालमा भएको सशस्त्र जनयुद्धमा होमिएका आङ्देम्बेको गोली लागि मृत्यु भएको थियो । विद्यालयमा आमा गौमतीले “गब्बरसिं आङ्देम्बे प्रतिष्ठान” अक्षयकोष स्थापना गरी उक्त रकम विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेलाई प्रदान गरेकी छन ।
अक्षयकोषको ब्याजबाट प्रत्येकवर्ष विद्यालयमा अध्ययन गर्ने अपांग, गरिब, जेहेन्दार, सिमान्तकृत तथा दलित छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले बताए ।
शैक्षिक गुणस्तर सुधार गर्न बिपन्न समुदायका नागरिकलाई सहयोग गर्ने आङ्देम्बे परिवारको प्रशंसा गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार आङ्देम्बेले विद्यालय सेवाक्षेत्रका बालबालिकाहरुको पढाइमा अक्षयकोष छात्रवृत्तिले थप हौसला प्रदान गरेको विश्वास लिए ।