बिर्तामोड । झापाको मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेती चढेको सरकारी गाडी बिहीबार दिउँसो एक समुहले जलाउने प्रयास गरेको छ । उपप्रमुख चढ्दै आएको मे १ झ १७२ नंम्बरको गाडी अज्ञात समुहबाट जलाउने प्रयास भएको हो ।
सडकमा गुडिरहेको बेला मोटरसाइकलले बाटो छेकेर दुइजनाको समुहमा रहेका युवाले जलाउने प्रयास गरेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् । जलाउने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन् ।
उप्रेतीका अनुसार गाडी जलाउन खोज्ने दुई युवाले आफुलाई आज सरकारी गाडी बन्द गर्ने आन्दोलनका कार्यक्रम रहेको भन्दै उत्रिन आग्रह गरेका थिए । उनले गाडीबाट उत्रिन नमानेपछि एक्कासी पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको बताएकी छन् ।
चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।
पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् । ‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचे’, उनले भनिन् । घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले गाडीमा आगो लगाउन प्रयास गर्ने समुहको खोजी भइरहेको बताए । उनले चाँडै नै घटनाको वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्ने समेत बताए । थापाले घटनामा संलग्न समुहको पहिचान भइसकेको हनाले चाँडै पक्राउ पर्ने बताए ।