भद्रपुर । सरकारको सघन सहरी विकास कार्यक्रममा कालोपत्रे सडक नपारिएको भन्दै धुलोपीडित स्थानीयद्वारा गरिएको सडक अवरोधमाथि प्रहरीले हस्तछेप गरेको छ । प्रहरीले दुइमहिलामाथि कुटपिट समेत गरेको स्थानीयले जनाएका छन् ।

भद्रपुर नगरपालिका–६ र ७ जोड्ने सयपत्री मार्गअन्तर्गत बोत्ताबारीदेखि मन्त्रीचोक सम्मको डेढ किलोमिटर सडक स्थानीयले बुधबारदेखी अवरोध गरेका थिए ।

बिहीबार दिउँसो सडक खुलाउन वडा प्रहरी कार्यालय भद्रपुरबाट गएको टोलीले स्थानीय ४५ वर्षिया सृजना घिमिरे र ४१ की मुना श्रेष्ठमाथि लछारपछार पारेर प्रहरी भेनमा वडा प्रहरी कार्यालय भद्रपुर ल्याएको स्थानीय जयदेव राजवंशीले आरोप छ ।

घटनापछि छलफलका लागि साँझ स्थानीय वडा प्रहरी कार्यालय भद्रपुरमा भेला भएका छन् । स्थानीयले कालोपत्रे सडक बनाउनुपर्ने र दैनिक पानी हाल्नुपर्ने दुई सूत्रीय माग राख्दै आन्दोलित बनेको अवस्थामा प्रहरीले हस्तछेप गरेको स्थानीय उत्तम भट्टराईले जानकारी दिए ।

स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै दबाबस्वरूप धुलो पीडित स्थानीयले सडकमा बाँसको तेर्साएर अवरोध गरेको उनले बताए । यस क्षेत्रमा चिया र दाना उद्योगहरू रहेको नियन्त्रणमा परेकी घिमिरेले बताइन् ।

दैनिक रुपमा ठूला सवारीसाधन चल्ने गरेका कारण घर आँगनमा बसी नसक्नु भएको उनको भनाइ छ । कम्पनीले साढे ६ किलोमिटर सडक नाला र ग्राभेल सडकको काम निर्माण गरिसकेको निर्माण कम्पनीका पुष्प निरौलाले जानकारी दिए ।

आयोजनाबाट ठेक्का लिएको काम सम्पन्न भइसकेको बताउँदै उनले सडकमा बेला बखत गिट्टी बालुवा हाल्ने काम गरिरहेको तर यसरी समस्याको समाधान नहुने उनले बताए । स्थानीय सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

सडक अवरोध गरेपछि पटक– पटकको छलफलबाट समेत निकास ननिस्किएपछि अबरोध हटाउनेक्रममा स्थानीयले प्रहरीमाथि कुटपिटको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाए ।

सडक खुलाउने क्रममा केही धरपकड भएपछि प्रहरीले दुइजना स्थानीय महिलालाइ नियन्त्रणमा लिनु परेको उनको भनाइ छ ।

सडकको विषयका बारेमा स्थानीय सरकारलाइ समेत जानकारी गराइएको उनले बताए ।

सरकारले भद्रपुर नगरपालिका भित्रको सडक स्तरोन्नतिका लागि सघन सहरी विकास कार्यक्रमअन्तर्गत दुई सय करोड रकम छुट्याइएको थियो । सो बजेटबाट अहिले भद्रपुरमा धमाधम पक्की नालासहित कालोपत्रे सडक निर्माण भइरहेको छ ।

तर, सदरमुकाम जोड्ने अति व्यस्त सडकलाई भद्रपुर नगरपालिकाले सो योजना नपर्दा अहिले सो क्षेत्रका स्थानीय पीडित बनेका छन् ।

सघन सहरी तथा भवन विकास आयोजना भद्रपुरले सघन सहरी विकास कार्यक्रमअन्तर्गत सो सडक खण्डमा पक्की नाला र ग्राभेल सडक बनाउने बजेट मात्र छुट्याएको थियो ।

सघन सहरी तथा भवन विकास आयोजना भद्रपुरले सो सडकमा नाला निर्माणको ठेक्का अरनिको हेवीट्याक्स जेभीलाई दिएको थियो ।