धरान/ काठमाडौंका सफाइ अभियन्ताहरूले धार्मिक पर्यटकीय क्षेत्र विजयपुरस्थित पञ्चकन्या मन्दिर परिसर सफाइ गरेका छन् ।
धरानको सेवक अभियानले प्रत्येक सोमबार गर्दै आएको सफाइ अभियानमा सहभागी हुन उनीहरू काठमाडौंबाट आइपुगेका हुन् । सोही अभियानलाई साथ दिन एउटा टोली नै धरान आएर सफाइ गरेको छ । सेवक अभियानको यो नवौं सफाइ अभियान हो ।
यस अभियानका लागि काठमाडौंबाट आएका फोहोरमैला व्यवस्थापन सङ्घका वरिष्ठ उपाध्यक्ष रामकुमार घिमिरेले सफाइ अभियानका लागि धरानमा पहिलोपटक आइपुगेको बताए । ‘हाम्रो अभियान विराटनगर, चितवनमा चलिरहेको थियो’ –उनले भने । उनले धरानमा जनचेतनाको कमी देखेको बताउँदै भने, ‘बाहिरबाट आएर सफाइ गरेर सम्भव हुँदैन, यहीँको स्थानीय मान्छेलाई जनचेतना फैलाउन सकेमात्रै कण्ट्रोल हुन्छ ।’
यो अभियानलाई साथ दिन अघिल्लो सोमबार सिरहाका सफाइ अभियन्ता धीरेन्द्रकुमार साह आइपुगेका थिए । उनले भने, ‘यस्तो सुन्दर जङ्गल क्षेत्रमा यहाँ आउने पर्यटक तथा स्थानीयले विवेक नभएर हो या चेतना नभएर प्लाष्टिकजन्य फोहोर फालेको पाइयो । अव्यवस्थित रूपमा फोहोर फ्याँकेको पायौं ।’ उनले थपे, ‘जनतालाई चेतना दिनुपर्छ । फोहोर फाल्ने ठाउँसम्म पु¥याइदिनुपर्छ भन्ने मान्यता राखेर सफाइका लागि यहाँ आएको हुँ ।’ उनले धरान सुन्दर र सफा सहर भनेर आफूले सुने पनि यहाँ आएपछि सोअनुसार नपाएको बताए । ‘जङ्गल क्षेत्रमा त यो अवस्था छ’ –उनले भने । उनले फोहोरलाई उचित व्यवस्थापन गर्नका लागि आग्रह गरे । पञ्चकन्या क्षेत्रमा हरेक दिनजसो वनभोज जाने गरेका छन् । विशेषगरी शनिबार र सोमबार त्यहाँ भीड लाग्ने गरेको छ । जसबाट उत्पादित फोहोर भने व्यवस्थित नभएकाले हरेक साताको सोमबार सफाइ अभियान थालिएको सेवक अभियानका अभियन्ता राजीव हलुवाईले बताए ।
‘यो नवौं हप्ता चलिरहेको छ, अब हाम्रो योजना धरानका मन्दिरहरू मात्रै होइन, इटहरी, वराहक्षेत्र, भेडेटारसम्मका धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रमा सफाइ गर्ने योजना बनाएका छौं’ –उनले भने । उनका अनुसार पुसको पहिलो साताबाट वराहक्षेत्र मन्दिर, श्मसान घाट, रामधुनी मन्दिर, इटहरीको शव दाहस्थल, भेडेटारको पाथीभरा मन्दिर, मस्जिद, गुम्बाहरूमा पनि सफाइ अभियान थाल्छौं ।
