दमक । झापाको दमकमा अब पाईपलाईन मार्फत घर घरमै ग्यास पुग्ने छ । जसरी खानेपानी पाईप मार्फत घर घरमा धारा पुर्याइएको छ त्यसैगरि ग्याँसलाई पनि पाईप विच्छ्याएर घर घरमा पुर्याइने योजनाको थानली भएको छ ।

दमकमा खेर गइरहेको फोहोरलाई एकिकृत गरी त्यसलाई प्रशोधन गरेर ग्यास र प्राङ्गारिक मल निर्माणको काम सुरु भै सकेको छ ।

दमकको वडा नं २ स्थित हसें दुम्से सामुदायिक वन क्षेत्रमा अहिले विभिन्न पक्की संरचना बनिरहेको छ । सामुदायीक वनले नगरपालिकाले सिमित क्षेत्र प्रयोग गर्न अधिकार दिएकोले त्यहाँ नगरपालिका मार्फत काम हुँदै गरेको हो ।

३ बिगाह क्षेत्रफलमा निर्माण हुदै गरेको प्रशोधन केन्द्रबाट उत्पादन हुने ग्यास तत्काल २ हजार २ सय परिवारलाई पुग्ने गरि वितरण गरिने छ ।

दमक नगरपालिकाकाे २० करोड ५८ लाख ९७ हजार ६ सय ५९ रुपैयाँ लागतमा काम सुरु गरिएकाे याे याेजनाको भौतिक निर्माणको जिम्मा नेस्कटइरा इनर्जी प्रालि/रोहन ट्रेडर्स जेभीले काम गरिरहेका छन् ।

यो परियोजनामा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट ५ करोड ८८ लाख २७ हजार ९ सय २ रुपैयाँ रकम प्राप्त भएको छ भने बाँकी १४ करोड ७० लाख ६९ हजार ७ सय ५७ निर्माण कम्पनीको लगानी रहेको छ । २०७६ साल माघ १० गते यो परियोजना निर्माणका लागि सम्झौता भएको थियो ।

सम्झौता अनुसार एक वर्ष भित्र आवश्यक संचरना निर्माण भै सक्नु पर्ने हो । अर्थात आगमी माग १० गतेभित्र बनि सक्नु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।

तर कोरोना कहरका कारण लक डाउनको अवधिमा बिभिन्न देशबाट ल्याउनुपर्ने सामान र प्राविधिक समयमा ल्याउन नसकिएका कारण आयोना सम्पन्नको मिती केहि पर धकेलिने निश्चित देखिएको छ ।

अघिल्लो वर्षको चैत २० गते काम गर्न सुरु भएको थियो । अधिकतम् अर्को वर्षको दशैं अघिसम्ममा दमकको फोहोरबाट प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन भै सक्ने छ ।

यो परियोजना निर्माण सम्पन्न भैसकेपछि यहाँबाट प्राङ्गारिक मल र बायो ग्यास उत्पादन हुने छ । अहिले बजारबाट संकलन गरेर ल्याएको फोहोरको प्रशोधन गर्न प्रयोग गरिने ट्याङक निर्माण भै रहेको छ ।

यसको जमिन मुनीको काम सम्पन्न भै सकेको छ । अहिले बाहिरी स्वपको काम सुरु भैरहेकाे छ । यसका अलाभा अन्य सहायक संरचनाहरुकाे पनि निर्माण कार्य भइरहकाे निर्माण कम्पनीका सञ्चालक मध्ये एक बिमल खतिवडाले जानकारी दिए ।

यो परियोजनाले उत्पादन दिन थालेको २० वर्ष पछि स्वःत सरकारको हुने छ । उत्पादन भएको बायो ग्यास उपभोक्ताको घर घरमा पुर्याउन त्यस अवधिमै पाईप विच्छाउने काम भएमा उत्पादन सुरु भएकै दिन देखी बायो ग्यास उपभोक्ताको चुलोसम्म पुगी सक्ने निर्माण कम्पनीका अर्का सञ्चालक यूवराज घिमिरेले बताए ।

४ वर्षअघि माथवे नेपालले दमकको फोहोरलाई प्रशोधन गरेर जैविक मल उत्पादन गरि नगरपालिकालाई आम्दानी दिने भनेर काम गरेको थियो ।

तर, त्यसले सफलता पाउन नसकेपछि नगरपालिकाले अर्को विकल्प सोचेर नयाँ परियोजना सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले वैकल्पिक उर्जा प्रवर्धन बोर्डले देशभरीका ठुला नगरहरुमा फोहोरलाई प्रशोधन गर्ने योजना ल्याइपछि दमकले समेत यो काम गर्ने इच्छा जनाइएपछि काम सुरु भएको हो ।

परियोजना सुरु भइसकेपछि दमकमा उत्पादन भएको फोहोरको सहि सदुपयोग भएर नगर सफा र सुन्दरका साथै आंशिक मात्रमा  भएपनि एलपीजी ग्याँसको मागलाई प्रतिस्थापन गर्न मद्दत पुग्ने नगर प्रमुख रोम ओलीले बताए ।

यसले स्थानिय उत्पादनलाई बढवा गराएर यहाँको श्रोत यहि खर्च गरी यहिका उपभोक्ताले खरिद समेत गर्दा दमकको पैसा बाहिर जानबाट रोकिने भएकोले यो परियोजना निकै महत्वपूर्ण रहेको उनले दावी गरेका छन् ।