ब्लाष्टखबर । धरान उपमहानगरपालिका ५ देविगाउँ खानेपानी तथा उपभाेक्ता समितिका अध्यक्ष र केहि व्यक्तिहरूकाे मिलेमताेमा उपभाेक्ता समितिकाे विधान विपरीत गैर समिति सदस्यलाइ धारा जडान गरिदिएकाे भन्दै जाेडिएका ३ घरकाे धारा उपभाेक्ताले चुँडाएका छन् ।

बिहिबार समितिका उपभाेक्ताहरूकाे एक समुहले झाेडापाटा जाने बाटाेमा रहेका ३ घरमा जडान गरिएकाे खानेपानीकाे पाइप चुँडाएका हुन् । समितिकाे विधानमा देविगाँउ क्षेत्र भित्रमा सेवा प्रदान गर्ने भएतापनि उनिहरूले धरान १५ बगरकाेट र धरान ५ जाेड्ने पक्की पुल नजिकै रहेका ३ घरमा नियम बिपरित धारा जडान गरेकाे उपभाेक्ता समितिका सदस्यहरूले बताएका छन् । 

नियम विपरीत धारा जडान गरेकाे बिषयमा जानकारी गराउन अध्यक्ष नेत्रप्रसाद भट्टराईले पटक पटक अग्रह गर्दापनि आनाकानी गर्ने र राजनितिक पहुँच देखाएर उपभाेक्ताहरूलाई गुमराहमा राख्न खाेजेकाेले ४ सय भन्दा बढिकाे संख्यामा भेला भएका समितिका उपभाेक्ताहरूले पाइप चुँडाएकाे उपभाेक्ता चन्द्र सोताङले बताएका छन् । 

उनले भने ' यहाँ ५० हजार भन्दा बढि लिएर धारा जडान गरेकाे भेटियाे । हाम्राे विधानमा देविगाँउमा क्षेत्रभित्र मात्र सेवा दिने भन्ने छ । यहाँ पनि धनाड्य पुजिपतीलाई मात्र जडान गरेकाे पाइयाे । यहाँ रहेका गरिब जनताले माग्दा पनि पानि दिन नमिल्ने भनिएकाे रहेछ । '

सोताङका अनुसार उपभाेक्ता समितिकाे कुनै पनि निर्णयमा ५० हजार लिएर धारा जडान गर्ने भन्ने निर्णय भएकाे छैन । उक्त विषयकाे जानकारी लिनकालागी उपभाेक्ताहरूले यसअघि लिखित पत्राचार गर्दै अध्यक्षलाई आजकाे मितिमा बैठक बस्न अव्हान गरेकाे थियाे ।

तर अध्यक्ष भट्टराईले समितिकाे तर्फबाट कुनै जवाफ नदिइ काेराेना महामारीमा भेला नहुन भन्दै  ५ नम्बर वडा कार्यालयबाट  पुस २ गते समितिका अध्यक्ष तथा उपभाेक्ताका केही प्रतिनिधि वडा कार्यालयमा भेला हुनु भन्ने निर्देशन पत्र जारी हुनुले  भट्टराई र वडा अध्यक्ष सन्ताेस लिम्बुले समिति भित्र राजनिति गर्न खाेजेकाे सोताङले बताएका छन्  ।  

उनले भने ' उपभाेक्ताकाे गुनासाे समितिका अध्यक्षसंग हाे ।  नियमसंगत भएकाे भए यसरी गरिएकाे हाे भन्दा भैहाल्थ्याे । त्याे पनि गर्न नसके समिति मार्फत पत्र आएकाे भएपनि हुन्थ्याे तर बाहिर लान जरूरी थिएन ।  ' 

भेला भएका उपभाेक्ताहरूले लामाे समय देखी एकछत्र रूपमा समितिकाे अध्यक्ष बनेका उनले समिति भित्र भएकाे आर्थिक गतिविधि गाेप्य राख्नी भ्रष्टाचार गर्ने गरेकाे, कुनै पनि बैठक नराख्ने र उपभाेक्ताले बैठक अव्हानकाे माग गर्दापनि राजनैतिक आडमा टार्ने गरेकाे आराेप लगाएका छन् । 

उता, समितिका अध्यक्ष भट्टराईले आफूले डेढ वर्ष अघि समितिकाे साधारण सभामा भएकाे निर्णय बमाेजिम नयाँ उपभाेक्ता ५० हजार ८६० लिएर धारा जडान गरेको बताएका छन् । उनले भने ' डेढ वर्ष अघि साधारण सभामा निर्णय बमाेजिम शुल्क लिएर बिल काटेर धारा जडान गरेकाे हुँ ।  ' 

अध्यक्ष भट्टराईले आफूले नेपाली कांग्रेसमा आस्था राख्ने भएकाेले अन्य राजनैतिक दलका कार्यकर्ताहरूले उपभाेक्तालाई विभिन्न खाले दवाब तथा प्रभावमा पारी भड्काएर धारा चुट्टाउन लगाएकाे बताएका छन् । ' म कांगेसमा आस्था राख्छु,  नेकपाका साथीहरूले म अध्यक्ष भएकाे मन पराएका छैनन् हाेला । उपभाेक्तालाई आज भेला नभए पाँच सय रूपैयाँ जरिवाना लाग्छ भन्दै बाेलाएकाे रहेछ । ' उनले उपभेक्ताहरूले आज भेला हुन भनेकाे भएपनि काेराेना महामारी भएकाे वडाबाट भेला नहुनु भनेपछि आफू नगएकाे बताए ।

तर उपभाेक्ताहरूले भने समिति भित्र अनियमितता भएकाे र ढाकछाेप गर्न काेराेना महामारी देखाउदै मनाेमानी ढङ्गले समिति चलाउन खाेजेकाे आराेप लगाएका छन् । उनिहरूले ७० भन्दा बढिले धारा जडानकाे  माग गर्दा ३ वडा घरमा मात्र धारा जडान गर्नु शंकास्पद रहेकाे बताएका छन् । 

भट्टराईका अनुसार उपभाेक्ताले चुट्टाएका ३ धारा मध्ये एउटा करिब एक वर्षअघि, अर्काे गत असाेजमा र अर्काे करिब १० दिन अघि ५० हजार ८६० लिएर जडान गरिकाे  थियाे । पुराना उपभाेक्ताहरूका छाेराछाेरी छुट्टिए १२ हजारमा जडान गर्ने गरेकाे उनले बताएका छन् । उनका अनुसार नयाँ र पुराना गरी हाल ४१७ जना उपभाेक्ता रहेका छन् । 

महँगाे मुल्य तिरेर नयाँ सदस्यता लिइ धारा जडान गरेका नवीन राईले उपभाेक्ता समुहले धारा चुट्टाएपछि समितिमा राजनीतिकरण भएको बताउँदै पानीबाट बन्चित नगर्न उपभाेक्ता माझ आग्रह गरेका छन् । करिब एक वर्षअघि धारा जडान गरेका अर्का भोजराज श्रेष्ठले पनि समितिको आन्तरिक विवाद आफुलाई थाहा नभएकाे बताउँदै तोकिएको शुल्क तिरेर धारा जडान गरेकाे र अहिले आन्तरीक विवादले काटिएकाे बताए ।