भद्रपुर । झापामा मार्बल लोड गरिएको पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

दुर्घटनामा दमक नगरपालिका ९ का ५५ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । शुक्रबार कमल गाउँपालिका ७ स्थित पाडाजुगी– गौरीगञ्ज सडक खण्ड अन्तर्गत गेउरियामा मे १ च ६४९७ नम्बरको पिकअप भ्यान पल्टिँदा दुर्घटना भएको उनले जनाए ।

त्यस्तै, घाइते दमककै २६ वर्षीय सुनिल चौधरीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने जलेश्वर चौधरीको दमकमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मार्वल बोकेर गौरीगञ्जतर्फ जाँदै गरेको पिक अप भ्यानको चक्का खुस्केर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले उनले जनाए ।

पिकअपसहित चालक दमक नगरपालिका ६ का २० वर्षीय रोहण यादवलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।