विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले अनुशासन प्रहरी संगठनको गहना भएकोले प्रहरीको तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सवको कार्यक्रममा आइतबा बोल्दै डिआइजी कार्कीले यस्तो बताएका हुन् । उनले प्रहरीलाई दिने तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गरिनुपर्ने बताए ।
उनले प्रहरीहरूलाई उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन पनि दिए । ‘समयको परिवर्तन संगसंगै नागरीकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाढी बढ्नु अहिलेको आवश्यकता हो,’ डिआइजी कार्कीले भने, ‘हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरु देखि नै मस्तिष्कमा राखेर अगाडी बढनु पर्दछ ।’
कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागी प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने बताए । सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको डिआइ कार्कीले औल्याए ।
योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरे ।
हालसम्म आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरण समेत गरी कुल ७७ हजार ९४ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरी सकिएको उनले जानकारी दिए ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक टेक बहादुर तामाङले प्रहरीले नयाँ चुनौतीसँग सामना गर्न सक्षम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले बताए ।
उनले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धीमुलक बनाउने कार्यमा तालीम केन्द्र निरन्तर अगाडी बढि रहेको जानकारी दिए । बार्षिक उत्सवकै अवसरमा तालिम केन्द्र परिसरमा बृक्षारोपण समेत गरियो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष जीना थापा कार्की तथा पदाधीकारीहरु, पूर्ब प्रहरीहरु र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति थियो । वार्षिकोत्सवको अवसरमा पुर्व प्रहरी नायव निरीक्षक कुमार महर्जनलाई सम्मान गरियो ।
तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस (डबल), ब्याडमिन्टन (डबल), हण्डीफोर प्रतियोगिया र म्युजिकल चियरमा प्रथम तथा द्धितिय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरियो ।
तालिम केन्द्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी नायव उपरीक्षक बिनोद शर्मा, प्रहरी निरीक्षक भिम बहादुर खड्का, प्रहरी नायव निरीक्षक लक्ष्मी प्रसाद घिमिरे र बुद्धीराज दराई, प्रहरी सहायक निरीक्षक टेकबिर बि.क., प्रहरी हवल्दार आशाराम चौधरी, प्रहरी जवान रीता राई, दुर्गा राई, दावा तामाङ तथा प्रहरी कार्यालय सहयोगी दिपेश मालीलाई पुरस्कृत भए ।