भण्टाबारी/ सोमबार एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन भन्दै घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव अब कहिले फर्किने छैनन् ।
गाउँकै एक निजी स्कुलमा भ्यानमा विद्यार्थी ओसार्ने प्रमोद एकाबिहानै गहुँमा पानी हालेर ८ बजेसम्म फर्किने गरी हिँडेका थिए । उनका बाबु हरिनारायण यादव भन्छन्, ‘तर, छोरा अब कहिले नफर्किने भयो । हात्तीले आतङ्क मच्चाउँदै, दुःख दिँदै आएको छ । हुँदाहुँदै छोराकै ज्यान लियो । यसको जिम्मेवार को ?’
‘मकुना’ हात्तीको आक्रमणबाट मृत्यु भएका प्रमोदको डेढ वर्षअघि बिहे भएको थियो । उनकी श्रीमती र दुईमहिने छोरा छन् । कोशी गाउँपालिका वडानम्बर ६ र ७ मा स्थानीयको घर भत्काई कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ फर्किंदै गरेको ‘मकुना’ हात्तीको आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको हो । ‘घटनाको प्रकृति हेर्दा मकुनाले लखेटेर मारेको देखिन्छ’ –घटनास्थल पुगेका कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले भने ।
टाउको र अनुहारमा गम्भीर चोट लागेका प्रमोदलाई हात्तीले ‘टार्गेट’ गरेरै मारेको उनको भनाइ छ । गाउँ पस्दा हात्तीलाई धपाउने क्रममा ढुङ्गाले हिर्काएमा वा रिस उठाउने व्यक्तिलाई हात्तीले ‘टार्गेट’ गर्ने गरेको हात्तीविज्ञ बताउँछन् । सामान्यतया ट्याक्टरको आवाज सुनेर, लाइट देखेर भाग्ने हात्ती पछिल्लो समय भने भाग्न छाडेका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच वर्षौंदेखि द्वन्द्व चलिआएको छ । जसका कारण दर्जनौं व्यक्तिले अनाहकमा ज्यान गुमाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो चार वर्षको अवधिमा २३ जनाले ज्यान गुमाएका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लामा अवस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको छ । जुन क्षेत्रफल थोरै भएको कोशीटप्पु वन्यजन्तु आरक्षका अधिकारी स्वयम्ले बताउने गरेका छन् ।
आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म जङ्गली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरी जिल्लामा आठ जनाको मृत्यु हुनुका साथै सोही अवधिमा दुई दर्जन व्यक्ति घाइते भएको वार्डेन चौधरीको भनाइ छ । पछिल्लो चारवर्षको अवधिमा भने हात्ती आक्रमणबाट तीनवटै जिल्लामा गरी २३ जनाको मृत्यु भएको कोशीटप्पु वन्यजन्तु आरक्षको तथ्याङ्कले देखाउँछ ।
जनप्रतिनिधिद्वारा आन्दोलनको चेतावनी
हात्ती रोक्न ठोस कदम नचालिएको भन्दै कोशी गाउँपालिका क्षेत्रका जनप्रतिनिधिहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि सर्वसाधारणलाई आतङ्कित बनाउने क्रम रोक्न कुनै ठोस पहल भएको छैन’ कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले भने, ‘कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किने गरेका हात्तीको समूहले मान्छे मार्ने, घर तोडफोड गर्ने गरेकाले त्यसलाई रोक्न अब आन्दोलनको विकल्प छैन ।
अब कोशीवासी सडकमा उत्रिन्छन् ।’ उनले आक्रोसित हुँदै भने, ‘सर्वसाधारणसँगै हामीले ध्यानाकर्षण गराउँदा गराउँदै आजित भइसक्यौं तर, उपलब्धि केही भएन ।’ विगतमा जस्तो आश्वासन दिएर मात्रै अबको आन्दोलन नरोकिने बताउँदै अध्यक्ष अन्सारीले मान्छेमार्ने हात्ती सहितका जङ्गली जनावर रोक्ने भरपर्दो उपाय अविलम्ब नगरेसम्म आन्दोलन गरिरहने बताए । मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतङ्कित बनाएपछि कोशीटप्पु वन्यजन्तु आरक्षले ‘मकुना’ हात्तीको लोकेसन ट्रयाक गर्न २०७४ मङ्सिर १५ गते रेडियोकलर जडान गरेको थियो । उक्त रेडियोकलरको सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ ।
मकुनाको खुट्टामा चेन लगाइने
आरक्ष प्रशासनले रोक्न खोज्दाखोज्दै पनि ‘मकुना’ हात्ती मानव बस्ती प्रवेश गरेर आतङ्क मच्चाउनेदेखि मान्छे मार्ने गरेको छ । हात्तीलाई मानव बस्ती जानबाट रोक्नका लागि हात्तीको खुट्टामा चेन लगाइने उपायका बारे विभागमा मङ्सिर ६ गते नै पत्र पठाएको वार्डेन चौधरीको भनाइ छ । विभागले राष्ट्रिय प्रकृति संरक्षण कोष अर्थात् ट्रष्टका प्राविधिक पठाउने निर्णय भए पनि आजभोलि गर्दागर्दै आइपुगेका छैनन् ।
हात्ती आक्रमणबाट सोमबार बिहान स्थानीय प्रमोद यादवको मृत्यु भएलगत्तै पुनः विभागमा प्राविधिक पठाउन पत्र काटेको वार्डेन चौधरीले बताए । प्राविधिक आएर हात्तीको खुट्टामा चेन लगाएपछि हात्ती एक दिनमा एक किलोमिटरभन्दा बढी हिँड्न नसक्ने उनको दाबी छ ।