डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले  चासो दिएकी छीन् । अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तितपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । 

गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उहाँकी छोेरीको हाल उपचार भइरहेको छ । उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबाट हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो ।  आयोगका अध्यक्ष पराुजलीसँगको भेटमा पीडित भाटले आफू र  नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने  आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेका छन् । पति सन्तोष हाल फरार छन् । 

आयोगका  अध्यक्ष पराजुलीले सो सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग कुुरा गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यसअघि नै आग्रह गरिसकिएको छ । उनले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्नेमा जोड दिए । 

आयोगले निषेधाज्ञामा घरमा रहेका महिला÷किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ । हेल्पलाइनबाट २४  घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ । 

उपचारका लागि रु २ लाख सहयोग

उपचारत लक्ष्मीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु दुई लाख उपचार सहयोग गर्ने भएको छ । आज प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते भाटको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिए । 

सङ्घीय सरकारले पनि घाइते लक्ष्मीको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ । उहाँको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए ।