ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१, कुन्तादेवीका आगलागीपीडित पाँच परिवारका लागि आवास निर्माणको काम थालिएको छ । प्रदेश सरकारको सहयोगमा जनता आवास कार्यक्रममार्फत कुन्तादेवीको डुलडुलेका अग्नीपीडितको घर निर्माणको काम थालिएको हो ।

गत चैत १५ गते भएको आगलागीमा स्थानीय धनबहादुर केसी, निरबहादुर प्रधान, पेशल प्रधान, निरकुमार प्रधान  र मनिकुमार प्रधानको घर जलेको थियो । आगोले घर जलेपछि पीडितहरु गोठ बनाएर जसोतसो बसिरहेका थिए ।

कमजोर आर्थिक अवस्थाका कारण घर बनाउन नसक्ने अवस्थामा रहेका स्थानीयबासीको घर निर्माणको जिम्मा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले लिएका थिए । 

गत जेठ ५ गते अग्नीपीडितलाई राहत दिन पुगेका मन्त्री गुरुङले तत्कालका लागि प्रदेश सरकारका तर्फबाट पाँच परिवारलाई ५० हजारका दरले २ लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार २५ हजारका दरले १ लाख २५ हजार रुपैयाँ राहत उपलब्ध गराएर आवास निर्माण समेत गरिदिने आवश्वासन दिएका थिए ।

आश्वासन दिएको १५ दिन नपुग्दै मन्त्री गुरुङले आफ्नो वाचा अनुसार कुन्तादेवीमा जनता आवासका घर शिलान्यास गरेका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन अन्तरगत जनता आवास कार्यक्रम मार्फत निर्माण हुने घरको मन्त्री गुरुङले शनिवबर शिलान्यास गरेका हुन् । घरबिहीन प्रकोपपीडितका घर तत्काल निर्माण सम्पन्न गरेर वर्षा अगावै घरभित्र सुरक्षित बस्ने वातावरण बनाउन मन्त्री गुरुङले निर्देशन दिएका छन् । ‘मेरो निर्वाचन क्षेत्रका नागरिकको दुःखमा नजिकबाट साथ दिँदै आएको छु । यहाँका अग्नीपीडितलाई राहत लिएर आउँदा घर पनि बनाउन सकिन्न तपाईँकै आशा छ भने र मैले हुन्छ, म जसरी पनि यहाँहरुको घर बनाइदिन्छु भनेको थिएँ । आज शिलान्यास गर्दा खुशी लाग्यो ।’ मन्त्री गुरुङले भने, ‘वर्षामा अब पानीले सताउँछ । तत्काल घर निर्माणको काम सकेर जनतालाई वर्षाअगावै घर हस्तान्तरण गर्न म जिम्मेवार पक्षलाई आग्रह गर्दछु ।’

मन्त्री गुरुङको मन्त्रालयबाट विपद्मा परेर घरबारविहीन एकल महिला तथा दलित समुदायका लागि जनता आवासमार्फत घर बनाउन रु एक करोड बजेट जिल्ला पठाएका थिए । 

घर शिलान्यास कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठ र उपप्रमुख इच्छाकुमारी गुरुङलगायत सहभागी थिइन् । 

कुन्तादेवीका अग्नीपीडितले घर निर्माणका लागि प्रतिघर रु ३ लाख ५० हजार पाउने छन् । पाँच वटा घर बनाउन परामर्शदातासहित रु ३ लाख ५० हजारका दरले प्रदेश सरकारबाट रकम उपलब्ध भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सुमन मिश्रले बताए । चालु आर्थिक वर्षको असार मसान्तभित्रै अग्नीपीडितका जस्ताको छानो भएको दुई कोठे घर निर्माण गरेर हस्तान्तरण गरिने उनको भनाई छ ।   

घर बन्ने भएपछि मोलुङ गाउँपालिका १ डुलडुलेका आगलागी पीडित खुसी भएका छन् । ‘उनी आएर अस्ति राहतको पैसा दिएर गएका थिए  । आज त घर बनाउने काम थाल्न आए । हामी धेरै खुसी छौं ।’ अग्नीपीडित हर्कमाया प्रधानले भनीन् ।