झापा/राष्ट्रिय समाचार समिति (रासस) का कर्मचारी बलबहादुर पोर्तेललाई पितृशोक परेको छ । मेचीनगर नगरपालिका–६ निवासी उनका बुबा धनबहादुर विश्वकर्माको आज बिहान ९ः५० बजे मेची आम्दा हस्पिटल धुलाबारीमा ७६ वर्षको उमेरमा निधन भएको हो ।
स्व. धनबहादुरका पत्नी चन्द्रकला विश्वकर्मा, चार छोरा बलबहादुर, हिमाल, पर्वत र दुर्लभ छन् भने तीन छोरी पवित्रा, युगमाया र रोशनी छन् । रासस झापाका कर्मचारी बलबहादुर उनको जेठो छोरा छन् भने साइलो छोरा पर्वत कान्तिपुर दैनिकका झापा समाचारदाता छन् ।
पारिवारिक स्रोतका अनुसार दमका बिरामी धनबहादुरलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मेची अस्पताल भद्रपुर लैजाने तयारी हुँदाहुँदै उनको निधन भएको थियो ।