विजयपुर । रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने बताएका छन् ।
बिहीबार नागबहालस्थित हिरण्यवर्ण महाविहारमा आयोजित तारेमाम् सङ्घको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्ध दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य तथा आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले वर्तमान विश्व द्वन्द्व, स्वार्थपरायणता, नैतिकताको क्षयीकरण, असहिष्णुता तथा मानवीय मूल्यहरूको ह्रासबाट प्रभावित भइरहेको उल्लेख गर्दै बुद्धका उपदेश अहिले झन् सान्दर्भिक बन्दै गएको धारणा राखे । राष्ट्रपति पौडेलले बुद्धका शिक्षाले मानव जातिलाई सुख, शान्ति र आनन्दको मार्ग देखाएको उल्लेख गर्दै संसारभर यसको प्रचारप्रसार भइरहेको बताए । शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको पनि उनले बताए ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको अनुसरण आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले सिद्धार्थ गौतमले प्रतिपादन गरेको बौद्ध दर्शन विश्वव्यापी रूपमा फैलिएको उल्लेख गर्दै चतुआर्य सत्य, प्रतीत्यसमुत्पाद र आर्यअष्टाङ्गिक मार्गले सम्पूर्ण प्राणीलाई दुःखमुक्तिको बाटो देखाएको बताए । तस्बिरः रासस