विजयपुर । धरान उपमहानगरपालिका–१७ स्थित उदय सामुदायिक वन क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको टोली, इलाका प्रहरी कार्यालय धरान, अस्थायी प्रहरी चौकी रेल्वे तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेका धरान–१७ फोकल्याण्ड बस्ने ३० वर्षीय सुरज राईलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट १६.९५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले राईले प्रयोग गर्दै आएको को २९ प २९४९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।