विजयपुर । रोल्पामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।


जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जीप भिरबाट करिब ८ सय मिटर तल खस्दा १८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटनालगत्तै रोल्पाका प्रहरी प्रमुख वीरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार कार्यमा खटिएको उनले बताए । उक्त जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले जानकारी दिए । “दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन । दुर्घटनाबारेमा थप विवरण आउन बाँकी छ”, उनले भने । रासस