विजयपुर । धरानमा चार विद्यालयका शिक्षक तथा विद्यालय नेतृत्वकर्तालाई दुईदिने शैक्षिक तालिम सुरु भएको छ ।
खि सुरु भएको तालिममा शिक्षण सिकाइ, विद्यार्थी सहभागिता, मानसिक स्वास्थ्य, विद्यालय नेतृत्व र समावेशी वातावरण निर्माणका विषयमा प्रशिक्षण दिइएको कार्यक्रम संयोजक सागर खड्काले जानकारी दिए । उनका अनुसार कार्यक्रममा आइडल, केके इन्टरनेशनल, सियोन र कारमेल विद्यालयका १२० जना शिक्षक सहभागी छन् । पहिलो दिन शिक्षकलाई सक्रिय सिकाइ, विद्यार्थीको आवश्यकता अनुसार शिक्षण विधि, अनुसन्धानमा आधारित सिकाइ, रुचि र सहभागिता बढाउने उपाय, मानसिक स्वास्थ्य, व्यवहार व्यवस्थापन, प्रभावकारी प्रश्न गर्ने तरिका, प्रतिक्रिया दिने भाषा, वैकल्पिक मूल्यांकन, आलोचनात्मक सोच, सिर्जनशीलता तथा परियोजनामा आधारित सिकाइबारे प्रशिक्षण दिइने छ । दोस्रो दिन ४० जना प्रिन्सिपल तथा विद्यालय नेतृत्वकर्ताको सहभागिता हुनेछ । उनीहरूलाई विद्यालय नेतृत्व, समग्र विद्यार्थी विकास, रूपान्तरणकारी नेतृत्व, सकारात्मक विद्यालय संस्कृति, अपनत्वमूलक प्रणाली तथा सुरक्षित र समावेशी विद्यालय वातावरणबारे प्रशिक्षण दिइनेछ । तालिमको सहजीकरण काठमाडौं विश्वविद्यालयका डा. श्रीकृष्ण वाग्ले र स्कुल काउन्सिलर हिक्मत दाहालले गर्ने संयोजक खड्काले बताए ।