धरान । धरान–८ अरुणटोलकी आशा रोक्कालाई बर्खाको समयमा खहरेमा आउने भेलले तनाव दिने गरेको छ । उनी मात्रै हैन, माइली भनी चिनिने कमला शाक्य पनि बर्खामा धेरै पानी परे तनावमा हुन्छिन् । यहाँका अधिकांश घरबस्तीलाई खहरेले निकै दुःख दिने गरेको छ । विगत चार–पाँच वर्ष यताबाट भने केही शान्ति मिलेको उनीहरू बताउँछन् । 

“दुःख दिएको छैन र पनि भन्न सकिँदैन । रातैभरि पानी प¥यो भने डरमर्दो हुन्छ” २०५० सालदेखि बस्दै आएकी रोक्काले भनिन्, “चार–पाँच वर्ष अगाडिसम्म त डरलाग्दै हुन्थ्यो । अहिले दुवैतिर ड्रेन बनाएकाले अलिक सन्चो भएको छ ।” मनसुनका बेलामा नदी, खोला, खहरेहरू उर्लेर आउने भएकाले पनि खोला, नदी तथा खहरेछेउमा बसेका बस्तीवासीलाई तनाव दिने गरेको छ । नेपालमा मनसुनका बेलामा आउने बाढी तथा पहिरोले बर्सेनि मानवीय तथा भौतिक क्षति पु¥याउँदै आएको छ । विपद् पोर्टलका अनुसार सन् २०२५ भरि देशभरि बाढीका कारण ३७ जनाले ज्यान गुमाए भने १४ जना मानिसहरू घाइते भएका छन् । 

यस्तै २३ वटा भौतिक संरचना र १ सय २० वटा चौपायाहरूमा क्षति पुगेको थियो । यस्तै पहिरोतर्फ एक वर्षमा ५६ जनाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका छन् । यस्तै चार सय १ वटा भौतिक संरचनामा क्षति पुग्दा १ सय ६३ वटा चौपायामा क्षति पुगेको थियो । पछिल्लो तथ्याङ्कहरूलाई आधार मान्दा विपद्मा सबैभन्दा जोखिम बाढीपहिरो हुन थालेको छ । विश्व बैङ्कले सन् १९८० देखि २०२४ सम्मको तथ्याङ्कलाई केलाउँदा नेपालमा सन् २०१५ मा आएको भूकम्पपछि दोस्रो नम्बरमा बाढीपहिरोबाट ज्यान गुमाउने र क्षति हुनेको सङ्ख्या बढ्न थालेको छ । विश्व बैङ्कको तथ्याङ्कलाई आधार मान्दा बाढीबाट मात्रै मृत्यु हुनेको सङ्ख्या २ सय ७६ रहेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सरकारले जुनसुकै विपद्का लागि पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै लगेको बताइन् । उनले भनिन्, “मनसुनलाई लक्षित गरेर विपद् प्रतिकार्य योजना बन्दैछ । वैशाखको अन्तिमसम्म बनिसक्छ । मनसुन सेक्युरिटीका लागि प्रहरी, सेना र सशस्त्र प्रहरीले पनि आ–आफ्नो तयारी गरिरहेका छन् । हामीले पनि आफ्नो तर्फबाट तयारी गरिरहेका छौँ । बाढीपहिरोबाट हुने क्षतिलाई कम गर्नका लागि सञ्चार माध्यमबाट पनि सूचनाहरू प्रसारण तथा प्रकाशन गरिरहेका छौँ । कस्तो विपद्मा के गर्ने भन्ने विषयमा स्वयम्सेवकहरूलाई तालिम पनि दिइरहेका छौँ । प्रदेश र स्थानीय तहलाई पनि सक्रिय बनाइरहेका छौँ ।”

सन् २०११ अप्रिल १४ यता बाढी तथा पहिरोबाट मृत्यु हुने र घाइते हुनेको सङ्ख्या उल्लेखनीय रहेको पाइएको छ । विपद् पोर्टलको तथ्याङ्कलाई केलाउँदा १५ वर्षमा बाढीबाट मात्रै एक हजार ३० जनाको ज्यान गएको देखिएको छ । यस्तै दुई सय ७९ जना घाइते भएका छन् भने एक हजार ८६ वटा चौपायामा क्षति पुगेको छ । यस्तै ११ हजार नौ सय ८३ वटा भौतिक संरचनामा क्षति पुगेको छ । साथै पहिरोबाट एक हजार नौ सय ४७ जनाको ज्यान गएको देखिएको छ । यस्तै एक हजार ६ सय ५३ जना घाइते भएका छन् भने ६ हजार आठ सय ८ वटा चौपायामा क्षति पुगेको छ । पहिरोका कारण ६ हजार तीन सय ९२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । नेपालको भौगोलिक बनावटका कारण पनि प्रत्येक वर्ष भौतिक क्षति तथा मृत्यु हुने दर बढ्दै गएको तथ्याङ्कहरूबाट देखिएको छ । 

नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलद्वारा २०८० सालमा प्रकाशित प्रतिवेदन अनुसार आगामी  दिनमा विपद् व्यवस्थापन सम्बन्धमा तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने देखिन्छ सादै विपद्को प्रकृतिको मात्रा र त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्नका लागि स्पष्ट दिशा निर्देश तथा प्रभावकारी प्रतिकार्यको व्यवस्था गर्नु आवश्यक हुन्छ भनी औँल्याएको छ ।

नेपालमा वि.सं. २०६५ साल भदौ २ गते कोशी नदी तत्कालीन पश्चिम कुशाहा–४ को पूर्वी तटबन्ध भत्काएर गाउँ पस्दा अर्बौंको क्षति भएको थियो । तत्कालीन समयमा सात हजार पाँच सय ७२ घरका ४२ हजार आठ सय विस्थापित भएका थिए भने एक अर्ब ६६ करोड रुपैयाँ पीडितलाई वितरण गरिएको थियो । सुनसरीको हालको कोशी गाउँपालिका–३, ४, ५, ६ र ७ का पाँच हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन बालुवामा परिणत भएको थियो । सप्तकोशी नदीले १२ किलोमिटर कालोपत्रे सडक र १३ किलोमिटर कच्ची सडक बगाएको थियो । भारतको बिहार राज्यको १८ वटा जिल्लालाई डुबाएको थियो र बाढीबाट ३३ लाख मानिस प्रभावित भएका थिए ।