धरान । सुकुम्बासी बस्ती हटाउने अभियानविरुद्ध धरानमा विरोध प्रदर्शन सुरु भएको छ । बस्ती रक्षा आन्दोलन परिचालन समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सयौंको सङ्ख्यामा सुकुम्बासी समुदायका व्यक्तिहरू सहभागी थिए ।
प्रदर्शन छाताचोकबाट सुरु भई नगर परिक्रमा गर्दै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरूले सरकारले डोजर प्रयोग गरेर बस्ती हटाउने कार्य तत्काल रोक्न माग गरेका छन् । उनीहरूले चेतावनी दिँदै भने, “यदि डोजर अभियान नरोकिए देशव्यापी आन्दोलन गर्दै राजधानीसम्म पुग्ने चेतावनी दिएका छन् ।”
कार्यक्रमलाई सम्बोधन गर्दै सन्तोष लिम्बूले जनताको अवस्था बेवास्ता गर्दै हतारमा डोजर चलाउनु गैरजिम्मेवार कदम भएको बताए । उनले गरिब तथा भूमिहीन नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित गर्दै विस्थापनतर्फ धकेलिएको आरोप लगाए । समस्या समाधान नभए आन्दोलन अझै चर्किने चेतावनी पनि उनले दिए ।
आन्दोलन समितिका संयोजक सुभाष राईले देशभर करिब ७० लाख सुकुम्बासी तथा भूमिहीन नागरिक रहेको दाबी गर्दै उनीहरूको मानवअधिकार हनन् भइरहेको बताए । व्यवस्थित बसोबासको विकल्प नदिई गरिएको हटाउने अभियान अस्वीकार्य रहेको उनको भनाइ थियो ।
त्यसैगरी समितिका सदस्य सुदर्शन श्रेष्ठले गरिबले दुःख गरेर बनाएको टहरा क्षणभरमै भत्काउनु अमानवीय भएको टिप्पणी गरे । सरकारले गाँस, बास र कपासको व्यवस्था गर्नुको सट्टा त्रास सिर्जना गरेको उनले आरोप लगाए ।
स्थानीय प्रतिनिधि सीताराम राईले आन्दोलन थप चर्किन सक्ने चेतावनी दिँदै सुकुम्बासीहरूको मतबाट निर्वाचित जनप्रतिनिधिहरूले उनीहरूको समस्याप्रति गम्भीर बन्नुपर्ने बताए ।