विजयपुर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा भने आंशिक बदली रहने जनाइएको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ । रासस