विजयपुर । विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको नगद रकमसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–४ स्थित विराटनगर विमानस्थलमा चेकजाँचका क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार विराटनगरबाट काठमाडौं जान लागेका सुनसरीको धरान–१८ का ३५ वर्षीय दिलीप तामाङले बोकेको ब्यागबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ फेला परेको थियो । यस्तै, अर्को उडानमार्फत काठमाडौं जान लागेका भारत, माल्दा सुजागञ्ज सिँघिया चन्चलाका ३६ वर्षीय मोहिदिल अलीको साथबाट १५ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै जनाबाट बरामद गरिएको कुल २६ लाख ९८ हजार रुपैयाँसहित नियन्त्रणमा लिई रकमको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।