विजयपुर । झापा र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको मेचीनगर नगरपालिका–६ क्षेत्रमा औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँचका क्रममा पाँच जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मेचीनगर–१३ का रोहन राजवंशी, मेचीनगर–९ का मनिष उप्रेती र मेचीनगर–६ का मिलन कार्की रहेका छन् । उनीहरूको साथबाट ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, सर्लाही लालबन्दी नगरपालिका–२ का जिम्स खत्रीको साथबाट १ ग्राम ६२० मिलिग्राम तथा शिवसताक्षी नगरपालिका–७ का रोहित भण्डारीको साथबाट ७८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका–२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सुनसरीको भण्टाबारी क्षेत्रमा इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–९ का श्यामकुमार रजकलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।