विजयपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार जारी शुभकामना सन्देशमा उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा उल्लेख गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका महत्त्वपूर्ण हुने बताए ।
सञ्चारमाध्यम सूचना प्रवाहमा मात्र सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समग्र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शितालाई दिगो बनाउन सक्ने धारणा व्यक्त गरे ।
उनले प्रेस स्वतन्त्रतासँगै तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितप्रतिको उत्तरदायित्वलाई समान महत्त्व दिनुपर्ने बताए । “प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ। डिजिटल युगमा फैलिँदै गएको गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालको दुरुपयोगप्रति सचेत रहन आवश्यक छ,” शुभकामना सन्देशमा उल्लेख छ ।
मन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा सक्रिय सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दै सञ्चार क्षेत्रको भूमिका समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक मार्गमा अघि बढाउन सधैँ महत्त्वपूर्ण रहने बताए । रासस