इनरुवा/ जिल्ला मालपोत कार्यालयमा जग्गा पासको क्रममा भ्रष्टाचारमा मुछिएका कर्मचारीहरु र लेखापढी व्यवसायीलाई जोगाउन चलखेल शुरु भएको छ । कोइराला लेखापढी सेन्टरका नारायण कोइराला, फाँटका शिवहरि पोखरेल र मालपोत अधिकृत ददिराम गुरागार्इंलाई जोगाउन आर्थिक चलखेल शुरु भएको हो ।

तत्कालीन कार्यालय प्रमुख विनोदकुमार पोखरेललाई सरुवा गरे पनि आर्थिक चलखेलकै कारण दुई कर्मचारी र लेखन्दासलाई कारवाही गर्न ढिलाइ गरिएको कर्मचारी स्रोतले बताएको छ । मालपोत अधिकृत गुरागार्इं र फाँटका कर्मचारी पोखरेलकै मिलोमतोमा मालपोत कार्यालयमा व्यापक रुपमा राजश्व हिनामिना गरिएको खुलासा भएसँगै उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेको थियो । तर उनीहरुलाई बचाउन पनि आर्थिक चलखेल शुरु भएको एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।
गुरागार्इं र पोखरेल राजश्व हिनामिनामा बारम्बार संलग्न रहने गरे पनि उनीहरु पैसाकै आडमा कारवाहीमा नपर्ने गरेको कर्मचारी स्रोत बताउँछ । मालपोतमा हुने भ्रष्टाचारबारे जिल्ला प्रशासन कार्यालयले चासो देखाए पनि अख्तियारमा उजुरी परेपछि जिल्ला प्रशासन पछाडि सरेको छ । उनीहरुलाई जोगाउन केही सामाजिक अगुवा पनि सक्रिय भएको एक कर्मचारीले सुनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रवक्ता रामजी कटुवालले मालपोत कार्यालयविरुद्ध परेको उजुरीको विषयमा छानविन भइरहेको जनाए । उनले भने, ‘हामीले चरण–चरणमा आवश्यक खातापाता लिइरहेका छौँ । अनुसन्धानको क्रम जारी छ ।’ लेखन्दास कोइरालासँग भने मौखिक सोधपुछ गरिएको उनले बताए ।