चितवन/रौतहटको तिलेश्वर सामुदायिक वनमा गोली लागी घाइते अवस्थामा भेटिएको एकसिङ्गे गैंडा आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।
फाइल फाेटाे
चन्द्रपुर–२, गैंडाटारको सो सामुदायिक वनमा शनिबार बिहान घाइते अवस्थामा गैंडा फेला परेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार सो गैंडालाई सौराहाको गैंडा क्याम्पमा छाडिएको छ ।
गैंडाको चिकित्सकको प्रत्यक्ष निगरानीमा आजैदेखि थप उपचार सुरु गरिने उनले बताए । प्राथमिक उपचार गरेर शनिबार बेलुकादेखिको प्रयासपछि गरेर गैंडा बेहोस बनाई ट्रकमा राखेर सो वनबाट आज बिहान ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।
उनका अनुसार सो भाले गैंडालाई छ ठाउँमा गोली लागेको छ । नौदेखि १२ इन्चसम्म गहिरो घाउ बनेर गोली छिरेको उनले बताए। झन्डै एक वर्षयता १५ वर्ष उमेरको सो गैंडा सोही सामुदायिक वनमा बस्दै आएको स्थानीयवासीलाई उद्धृत गर्दै चौधरीले बताए ।
उनले भने “यो गैंडा स्थानीयवासीसँग चिरपरिचित भइसकेको रहेछ । धान खान गाउँ जाने, गाउँलेले खेदेपछि जङ्गल छिर्ने गर्दै आएको रहेछ ।” स्थानीयवासीका अनुसार सोही सामुदायिक वनमा गत वर्ष दुई गैंडा पनि देखिएका थिए ।
निकुञ्जसँग नजोडिएको भए पनि पर्सा वन्यजन्तु आरक्षबाट सो क्षेत्रमा गैंडा गएको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।