धरान/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अनुसन्धान अधिकृतलाई आर्थिक अनियमीतताको अनुसन्धान रोक्न घुस दिने दुईजना पक्राउ परेका छन् । अनियमीतता गर्ने पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी भने फरार भएका छन् ।अनुसन्धान अधिकृतलाई घुस दिन खोज्ने बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालय जोरपाटीका व्यवस्थापन समिति अध्यक्ष छिरिङ वाङ्देल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम सिंह शेर्पालाई पक्राउ गरेको हो । दरवारमार्ग्स्थित एक रेष्टुरेण्टबाट उनीहरुलाई दश लाख रुपैया सहित पक्राउ गरिएको हो ।
उनीहरुले बुद्ध एकेडेमी आवासीय माविमा भएको आर्थिक अनियमितताबारे अनुसन्धानमा संलग्न अधिकृतलाई घुसको प्रस्ताव गर्दै अनुसन्धान रोक्न आग्रह गरेको आयोग श्रोतले जनाएको छ ।
विद्यालयमा अनियमितता भएको भन्दै उजुरी परेपछि केही समयदेखि आयोगले त्यसमाथि छानविन गर्दै आएको थियो । आर्थिक अनियमिततामा संलग्न पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी भने फरार रहेका छन् । बुढाथोकी पञ्चायतकालमा आपूर्ति राज्यमन्त्री थिए ।