विजयपुर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा ठेक्का लिएको केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले प्रतिष्ठानसँगको सम्झौतासमेत उल्लङ्घन गरेको अर्को तथ्य फेला परेको छ ।केटीएमले सुरक्षा मजदुरको सञ्चयकोषको रकम गायब बनाएको विषयमा समाचार सार्वजनिक भएलगत्तै उसले प्रतिष्ठानसँगको सम्झौतासमेत उल्लङ्घन गरेको तथ्य फेला परेको हो । केटीएमले प्रतिष्ठानसँग गरेको सम्झौतामा सुरक्षा गार्डहरुलाई वार्षिक दुई जोर पोशाक दिने उल्लेख गरिए पनि अहिलेसम्म एक जोर मात्र पोशाक दिएको पाइएको छ ।

नियमतः गर्मीको समयमा सुरक्षा गार्डहरुलाई पोशाक उपलब्ध गराउनुपर्ने हुन्छ ।सुरक्षा गार्डहरुले पानीमा भिज्दै ड्युटी गर्नु परेको दुखेसो गरेका छन् । केटीएमले प्रतिष्ठानसँग १० वटा वाकीटकी प्रयोग गर्ने सम्झौता गरे पनि पाँचवटा मात्र प्रयोग गरिरहेको स्रोतले बताएको छ । सुरक्षा व्यवस्था मिलाउन अति महत्वपूर्ण मानिएको वाकीटकीमा समेत केटीएमले बदमासी गरेको स्रोतको भनाइ छ । केटीएमले प्रतिष्ठानका विभिन्न १० स्थानमा सेन्ट्री पोस्ट बनाउने सम्झौता गरे पनि अहिलेसम्म सेन्ट्री पोस्टसमेत निर्माण गरेको छैन । सेन्ट्री पोस्ट नहुँदा सुरक्षा गार्डहरुले पानीमा भिज्दै र तातो घाममा बसेर ड्युटी गरिरहेका छन् । ‘तातो घाम र पानीबाट छलिएर बस्दा धेरैपटक गाली खाएका छौँ’, नाम सार्वजनिक नगर्न आग्रह गर्दै सुरक्षा गार्डहरुले भने, ‘हामीलाई अमानवीय हिसाबले काम लगाइएको छ ।’
आपूmलाई परेका समस्याबारे कुरा गर्दा ‘काम गर्न सकिँदैन भने गए हुन्छ’ भन्दै केटीएमका कार्यकारी निर्देशक रामेश्वर शाहले मान्छे प्रयोग गरेर हप्काउने गरेको पीडित गार्डहरुले बताए । केटीएमले बर्खामा जम्मा १५ वटा मात्र रेनकोट सुरक्षा गार्डलाई दिएको थियो । प्रतिष्ठानमा अहिले १ सय ४७ जना सुरक्षा गार्ड छन् । यसअघि प्रतिष्ठानमा केटीएमको तर्पmबाट सुरक्षा म्यानेजरका रुपमा काम गरेका पवन खड्काले भने, ‘झण्डै डेढ सय गार्डलाई १५ वटा रेनकोट बाँडिदिनु भन्दै त्यस बेला मलाई निर्देशन आएको थियो ।’
केटीएमका मानव संशाधन विभाग प्रमुख भरत सङ्ग्रौलाले खुल्ला ठाउँमा ड्युटी गर्नेहरुका लागि रेनकोट पठाइएको बताए । ‘भवनभित्र बस्नेलाई हैन, बाहिर बस्नेलाई पालैपालो गरेर लाउने गरी १५ सेट पठाएको हो ।’ उनले भने । प्रतिष्ठानसँगको सम्झौतामा दैनिक पेट्रोलिङ गस्ती गर्ने उल्लेख भए पनि अहिले गस्ती भएको पाइएको छैन । ब्लाष्टले पाँच दिनसम्म गरेको नियमित अनुगमनमा समेत गस्ती गरिएको भेटिएन । स्रोतका अनुसार केटीएमका कार्यकारी निर्देशक शाहले गाडी र बाइकमा नभएर एउटा साइकलमा गस्ती गर्न निर्देशन दिँदै गाडी र बाइक भने विराटनगरस्थित क्षेत्रीय कार्यालयमा राखेका छन् । केटीएमका मानव संशाधन विभाग प्रमुख सङ्ग्रौलाले भने वाकीटकी र पेट्रोलिङका विषयमा कुनै सम्झौता नभएको दावी गरे ।
गाडी कतिपटक कुदाउने भन्ने विषयमा सम्झौतामा ‘आवश्यकताअनुसार’ उल्लेख गरिएको जनाउँदै उनले भने, ‘कतिपटक कुदाउने हो भनेर हामीले निर्धारण गर्ने हो ।’ उनले भने । सेन्ट्री पोस्ट निर्माण गर्न पनि प्रतिष्ठानसँग सम्झौता नभएको उनको भनाइ छ । प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले भने यस विषयमा आपूmले अध्ययन गर्ने बताए । ‘प्रतिष्ठानसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्छ, कार्यान्वयन नभए प्रतिष्ठान कारवाहीको प्रक्रियामा जान्छ ।’ उनले भने ।