धरान/ मादक पदार्थ सेवन गरेर प्रहरीमाथि कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले विनाकारवाही सुटुक्क छाडिदिएको छ । प्रहरीमाथि कुटपिट गर्ने झापाको भद्रपुर–८ सङ्गम चोकका ३५ वर्षीय मनोज खरेललाई भद्रपुर वडा प्रहरी कार्यालयले सामान्य विषय भएको भन्दै बिहीबार दिउँसो छाडिदिएको हो ।

सङ्गम चोकको एक होटलमा बुधबार दिउँसो खानपानको क्रममा युवाबीच विवाद हुँदा समूहको एक व्यक्तिले आपूmमाथि हातपात गरेको जानकारी पीडित प्रहरीले वडा प्रहरी कार्यालयलाई दिएका थिए । त्यसपछि असई लक्ष्मी निमाङ्को नेतृत्वमा गएको प्रहरी टोली होटलमा अपराह्न साढे ४ बजे पुगेको थियो । मादक पदार्थ खाएका खरेललाई नियन्त्रणमा लिने क्रममा टोलीमा गएका प्रहरी हवल्दार मुगाधन राई र प्रहरी जवान कुन्दन श्रेष्ठलाई युवाले घेरा हाली सुताएर कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाए ।
उनीहरुले प्रहरीको कपडासमेत काम नलाग्ने गरी च्यातिदिएका थिए । घटनापश्चात् प्रहरीले खरेललाई नियन्त्रणमा लिई रातभर वडा प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । घटनालाई सामान्य बनाउन नेपाली काङ्ग्रेसका केन्द्रीय तथा स्थानीय स्तरका नेताले प्रहरीलाई दवाब दिएको स्रोतले जनाएको छ ।सोही दवाबका कारण वडा प्रहरी कार्यालयले स्थानीय बन्धु कार्कीलगायत सामुदायिक प्रहरीको उपस्थितिमा बुधबार मिलापत्र कागज गरेर ती व्यक्तिलाई छाडिदिएको हो ।
खरेल जँड्याहा भए पनि यस्ता घटनालाई सामान्य रुपमा लिनुपर्ने भएको जनाउँदै इन्स्पेक्टर राजनकुमार न्यौपानेले प्रहरीलाई नियन्त्रणमा लिने बेलामा सामान्य धक्काधक्की भएको बताए । खाएको सुरमा झगडा गरेको स्वीकार गर्दै खरेलले अबदेखि यस्तो काम नगर्ने बताएपछि सामान्य कागज गराएर छाडिएको इन्स्पेक्टर न्यौपानेले जनाए । जाँड खाने घटना धेरै हुने भएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ । यसमा आप्mनो कुनै स्वार्थ नरहेको उनले बताए ।