विजयपुर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा ठेक्का लिएको केटीएम सेक्युरिटीले सुरक्षा व्यवस्था मिलाउने नाममा प्रतिष्ठानका विभिन्न स्थानमा ‘धराप’ थापेको छ । केटीएमको धरापमा परी सात महिनाकी गर्भवती डाक्टरसमेत लडेकी छन् । धरापमा परी बिहीबार राति पत्रकार विकास चाम्लिङ राई समेत सामान्य घाइते भएका छन् ।

KTMGroups-

धरापमा अहिलेसम्म दर्जनभन्दा बढी सर्वसाधारण लडिसकेका छन् ।केटीएमले प्रतिष्ठानको मानसिक रोग विभाग, प्रसूती रोग विभाग, कालाजार वार्ड तथा बच्चाको आकस्मिक कक्ष जाने बाटोको बीचमै साङ्ली टाँगेको छ । साङ्लीले सुरक्षा दिने भन्दापनि असुरक्षा बढाएको भन्दै प्रतिष्ठान प्रशासनमा उजुरीनै परेका छन् । ‘सुरक्षा व्यवस्था मिलाउने नाममा डाक्टर, बिरामी र सर्वसाधारणलाई धराप थाप्ने काम भएको छ’, पत्रकार राईले भने, ‘केटीएम सेक्युरिटीले अनावश्यक ठाउँमा साङ्ली राखेर सुरक्षाको नाममा रवाफ देखाइरहेको छ ।’केही महिनाअघि साङ्लीमा अल्झेर लडेकै कारण आक्रोशित भएका दुई युवाले केटीएमको कन्ट्रोल रुममै गएर सुरक्षा गार्डमाथि कट्टी प्रहार गर्न खोजेका थिए । स्मरणरहोस्, केटीएमले साङ्ली राखेको ठाउँलाई यसअघिको सेक्युरिटी कम्पनी जिफोर एसले खुल्ला राखेको थियो । साङ्लीमा अल्झेकै कारण धेरै सुरक्षा गार्डले गाली र कुटाइ खाएका छन् ।

केटीएम सेक्युरिटीले साङ्ली राखेको ठाउँ वरपर कहिँपनि कुनै सङ्केत राखिएको छैन । ट्राफिक नियमअनुसार गाडी रोकिने, पार्किङ गर्ने तथा बाटो परिवर्तन गर्नुपर्ने भए २५ मिटर अगाडिनै सङ्केत दिने गर्नुपर्छ । तर केटीएमले सङ्केत र जानकारी समेत नदिएर अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र सुरक्षाका नाममा रवाफ देखाइरहेको धरान–११ का धीरेन सुब्बा बताउँछन् । सुब्बा पनि केटीएमले टाँगेको साङ्लीमा परेर लडिसकेका छन् । केटीएमको पूर्वाञ्चलस्थित कार्यालयका प्रमुख रुपम लामाले ‘कहिलेकाहिँ एक्सिडेन्टली’ घटना हुने गरेको बताए । उनले साङ्ली टाँगिएको ठाउँमा सङ्केत पनि राखिएको जनाए ।