इटहरी/ काम गरेवापत्को रकम माग्न इटहरी इलाका प्रहरी कार्यालय गएका रेम्बो आर्टका एक कलाकारले प्रहरीबाटै कुटाइ खाएका छन् । रेम्बो आर्टमा कार्यरत इटहरी–१६ एकम्बाका मनोज पञ्जियारले इप्रका इटहरीको लेखा फाँटमा कार्यरत सई रामचन्द्र पोखरेलबाट कुटाइ खाएका हुन् । शुक्रबार दिउँसो ४ बजेतिर नयाँ काम गरेको ६ सय रुपैयाँको बिल लिएर जाँदा बढी बिल ल्याएको भन्दै पोखरेलले कुटपिट गरेको पीडित पञ्जियारले बताए ।

उनका अनुसार कुटपिटपछि भने सई पोखरेलले पाँच सय रुपैयाँ दिएर पठाएका थिए ।यता, घटना बाहिर आएपछि इप्रका पुगेका सञ्चारकर्मीमाझ सई पोखरेलले आपूmबाट गल्ती भएको भन्दै आइन्दा गल्ती नगर्ने र आवश्यक परे पञ्जियारको उपचार गरिदिने भन्दै हात मिलाएर सहमति गर्न आग्रह गरेका थिए । सई पोखरेललेनै पञ्जियारलाई सामुदायिक अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएका थिए । कुटपिटबाट पञ्जियारको गाला सुन्निएको छ ।
यता, दुई दिनअघि मात्रै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डिएसपी नरेशराज सुवेदीले भने प्रहरीबाट गल्ती भएको भन्दै गल्ती गर्ने प्रहरीलाई स्पष्टीकरण सोधेर विभागीय कारवाही गर्ने बताए । कार्यालयभित्र र बाहिर पनि मानवअधिकार उल्लङ्घनका घटना भए कानुनी दायरामा ल्याउने डिएसपी सुवेदीको प्रतिवद्धता छ । बिहीबार मात्रै डिएसपी सुवेदीले आप्mना कार्ययोजना अघि सार्दै इटहरीको शान्ति सुरक्षा मजबुत बनाउने र कुनै पनि दबाव स्वीकार नगर्ने प्रतिवद्धता जनाएका छन् ।