इटहरी / तपाईको घरमा कोही सुन सफा गरिदिने भन्दै आउँछ भने होसियार रहनुहोस् । ती मानिसहरु ठगी गर्ने उदेश्यले आएका हुनसक्छन् । तर पनि दिउँसो घरमा बसेका प्रायः महिलाहरु यस विषयमा सचेत नहुँदा यसरी ठगी गर्ने समुह पूर्वका वस्तीबाट ठगी गर्न सफल हुँदै आएका छन् ।
यस्ता ठगीका घटना विभिन्न सञ्चार माध्यममा नआएका होइनन् । तर, इटहरी–५ स्थित कृष्णमाया गौतमको घरमा आइतबार आएका दुई जना मानिसले विस्वास दिलाए । सूनका गहना सफा गर्ने मान्छे हौं, गहना भए दिनुहोस् हामी सफा गरिदिन्छौं भने पनि उनीहरुको विस्वासमा परेर कृष्णमायाले एक तोलाको सिक्री दिइन् । सफा गरेर कागजमा पोको पारेर दिएको सिक्री एक छिनमा हेर्दा तौल घटेको थाहा पाइन् । सिक्री तौल गर्दा ६ आना मात्रै भएको इटहरी प्रहरीले जनाएको छ । उनीहरुले तत्कालै प्रहरीलाई खवर गरे । प्रहरीले उनीहरु मध्ये एक जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भयो । सफा गर्ने बहानामा सून गठी गर्ने भारतीय नागरिक विहार, अररिया जिल्ला बस्ने बर्ष २५ को बलराम साहलाई इटहरी प्रहरीले पक्राउ गरे पनि एक जना फरार छन् । सून सफागर्ने बहानामा ठगी गर्ने सोहीस्थानका भारतीय नागरिक ३५ वर्षीय राजु साहलाई खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । पक्राउ परेका साहलाई कानुनी कारवाही थालिएको पनि डिएसपी सुवेदीले बताए । उनले यस्ता मानिसहरुसँग सतर्क हुन पनि आग्रह गरेका छन् ।