विराटनगर/विराटनगर उपमहानगरपालिकाले आकर्षक र सुविधायुक्त सार्वजनिक पार्क निर्माण गर्ने तयारी अघि बढाएको छ । नेपाल सरकारले भारतीय सिमानासंग जोडिएका नगरपालिकाहरुलाई ५० करोडका दरले तीन वर्षसम्म रकम उपलव्ध गराउने भएपछि विराटनगर उपमहानगरपालिकाले यो वर्षकालागि विभिन्न नौ वटा योजनाहरु छनोट गरी काम गर्ने तयारी थालेको हो । शहरी विकास तथा भवन डिभिजन कार्यालय मार्फत सम्पन्न हुने ति योजनाहरुको सिफारिस नगरपालिकाले गर्छ । नगरपालिकाको योजनामा सरकारबाट प्राप्त हुने रकम खर्च गरी सिमानामा रहेका नगरपालिकाहरुमा विकासका पूर्वाधार विस्तार गर्ने योजना अनुसार सरकारले अघि बढाएको कार्यक्रम कार्यान्वयनका क्रममा योजना तय भएको हो । biratnagar भारतसंग सिमा जोडिएका देशभरका १८ नगरपालिकामा ५० करोड रुपैंयाको दरले रकम विनियोजन भएको छ । विराटनगर उपमहानगरपालिकाले त्यस रकमबाट रोडशेष रानी भित्री सडक स्तरोन्नती गर्ने लगायतका विभिन्न ९ योजना सिफारिस गरेको छ । त्यस क्रममा उपमहानगरपालिकाले विराटनगर रिङरोड भित्र १५ विगाह जमिन खरिद गरी सुविधासम्पन्न र आधुनिक पार्क निर्माण गर्ने भन्ने प्रस्ताव पनि गरेको छ । पार्क निर्माणकालागि पहिलो चरणमा जमिन खरिद गर्ने काम अघि बढाइने छ । तीन वर्षसम्म योजना निरन्तर आउने भएकोले पार्क निर्माणको काममा सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ । विराटनगरमा पर्यटनकालागि कुनै आकर्षक स्थान नभएको र शहरको सौन्दर्यताकालागि खुला पार्कहरुको आवश्यकता पर्ने भएकोले पार्कको योजना अघि बढेको बताइएको छ । विराटनगरलाई यसै वर्ष वालमैत्री नगर घोषण गरिएको छ । वालमैत्री नगर भएपनि वालवालिकाहरुलाई घुमाउने र देखाउने एउटा राम्रो पार्कसमेत नगरमा छैन । त्यसलाई समेत दृष्टिगत गरेर पार्क निर्माण गर्ने योजना अघि बढाएको नगरपालिकाले जनाएको छ ।