राजविराज / राजविराज नगरपालिका र जिल्लाको विभिन्न गाविसबाट विहिवार साढे दुई सय लिटर अवैध मदिरा र तीन सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्याल सप्तरीले दिएको जानकारी अनुसार वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरी टोलीले नगरको वडा नं. ७ बस्ने सुनिल लामा, तुलबहादुर थापा र वीरेन्द्र सरवरियाको घरबाट साढे दुई सय लिटर कच्चा पदार्थ र एक क्विन्टल मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कडरवोनाबाट खटिएको प्रहरी टोलीले मधुपट्टि गाविस २ बस्ने अशोक चौधरीको घरबाट ३५ लिटर कच्चा पदार्थ र ४० लिटर मदिरा बरामद गरि चौधरीलाई नियन्त्रणमा लिएको छ । यता, जिल्लाको को.बरसाईन गाविसबाट पनि प्रहरीले ७ जनाको घरबाट एक क्विन्टर अवैध मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार कोइलाडी ५ बस्ने ब्रह्मदेव पासवानको घरबाट ३०, सोहि ठाउँका लडु मण्डलको घरबाट १०, सिन्देश्वर सिंहको घरबाट १०, नमरतु मण्डलको घरबाट १०, दिलिप मण्डलको घरबाट १०, संजय मण्डलको घरबाट १० र वैद्यनाथ स्वर्णकारको घरबाट १० लिटर अवैध मदिरा बरामद गरेको छ ।