धनकुटा/डाँका मुद्दामा धनकुटा जिल्ला कारगारमा रहेका कैदी बन्दीका नाइके मिलन खड्का फरार भएको दुई हप्ता बित्न लाग्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बरु कैदी बन्दीका नाइकेको निगरानी गर्न खटाएको असइ चन्द्रबहादुर खड्कालाई अदालतमा २ हजार धरौटी राखेर कारागार प्रशासनले उल्टै बुधबार घर बिदामा पठाएको छ ।

घटनालगत्तै कारगार प्रशासनले असइ खड्कालाई निलम्बन गरेको थियो । कारागारमा चौकीदारको जिम्मेवारी पाएका कैदी बन्दीका नाइके सङ्खुवासभाको मावादिन–७ का मिलन खड्का भदौ ५ गते अपराह्न साढे २ बजेतिर मेसका लागि आवश्यक सामग्री खरिद गर्न बजार गएका थिए । सामान्यतया कैदी बन्दीका नाइके चौकीदारलाई तरकारीलगायतका दैनिक उपभोग्य सामग्री खरिदका लागि हप्तामा दुईपटक बजार लग्ने गरिएको थियो । त्यसै क्रममा धनकुटा–७ बसपार्क मोडको एक तरकारी पसलबाट असइ खड्कासँग आउँदा उनी फरार भएका थिए । उनलाई त्यस दिन बिहान साढे ७ बजे पनि छोडिएको थियो ।
एकै दिनमा दुईपटक छोड्नुले कारागार प्रशासनकै मिलोमतोमा योजना बनाएर फरार बनाइएको हो कि भन्ने शङ्का अनुसन्धानको क्रममा उत्पन्न भएको स्रोतले दावी गरेको छ । घटनाबारे प्रहरीको उपल्लो निकायबाट समेत सूक्ष्म अनुसन्धान भइरहेको स्रोतको दावी छ ।अरु बेला नाइकेलाई बाहिर लैजाँदा कारागार प्रशासनको अनुमतिमा पत्र तयार गरेर बुझिलिने पुर्जीमा हस्ताक्षर गरेपछि मात्र असइ खड्काको कमाण्डमा एक हवल्दार, दुई जवान र एक कार्यालय सहयोगी साथ पठाइन्थ्यो । तर त्यस दिन बन्दीलाई बाहिर निकाल्ने पुर्जीमा हस्ताक्षरसमेत नगरी असइ खड्काले एक्लै लगेका थिए । कारागार प्रशासनले पनि आवश्यक प्रक्रिया नै नपु¥याई चौकीदार खड्कालाई बाहिर पठाउनु संयोग मात्र हो कि नियोजित भन्ने अनुसन्धानको विषय बनेको छ ।
कारागार प्रशासनसँगको मिलोमतोमा असइ खड्काले उनलाई हुलाकटोल र मदनचोकतिर किनमेल गर्ने बहनामा भगाएको स्रोतको दावी छ । घटनाबारे बुभ्mन खोज्दा प्रमुख जेलर ईश्वरीप्रसाद रेग्मी भने घटना भएको बेला आपूm कार्यालयमा नभएको बताउँदै पन्छिने गरेका छन् ।फरार चौकीदार खड्काले धनकुटा–७ स्थित बसपार्क मोडमा रहेको एक तरकारी पसलमा २६ हजार ३ सय ५ रुपैयाँ तिर्न बाँकी रहेको तरकारी व्यापारी सुशील शाहले बताए । त्यस दिन पनि कैदी बन्दीका लागि २१ केजी आलु, ६ वटा लौकालगायतका तरकारी उनले लिएका थिए । निगरानीका लागि आएका असइलाई नजिकैको कर्माचार्य पे्रmेस हाउसबाट अण्डा ल्याउने जानकारी दिएर हिँडेपछि उनी वेपत्ता भए । चौकीदार खड्का वेपत्ता भएपछि तरकारी व्यापारी शाह बसपार्कतिर र असइ खड्का मदनचोकतिर खोजीका लागि जाँदा एक घण्टासम्म पनि नभेटिएपछि तरकारी व्यापारी शाहमार्पmत् जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको बताइएको छ ।उनी भाग्नुमा गत असार २० गते सुनसरीको झुम्का कारागारबाट अड्डासार भई आएका डण्ठे भन्ने शिव नेपालीको प्रमुख हात हुनसक्ने स्रोतको भनाइ छ । गोर्खाको ह्यालचोक गाविस–९ का उनी अड्डासार हुँदै धनकुटा जिल्ला कारागारआएका थिए ।
उनी ०७१ पुस २२ गते काठमाडौँमा चोरी गरेर भाग्ने क्रममा प्रहरीको कब्जामा परेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ७० हजार जरिवाना तोकेकोमा कैद तथा रकम तिरेर जरिवाना भुक्तान गरी गत साउन ६ गते उनी धनकुटा कारागारबाट छुटेका थिए ।सामान्य चोरीको मुद्दामा जेल परेका नेपाली अड्डासार हुँदै धनकुटा आएर १८ दिनमै छुटेको कारागार प्रशासनको अभिलेखमा देखिन्छ । नाइके खड्काले हरेक आइतबार र बिहीबार बाहिर निस्कँदा नेपालीसँग भेट्ने गरेको र फोनमा समेत कुरकाकानी गर्ने गरेको स्रोतले बताएको छ ।
केही वर्षअघि बलात्कार अभियोगमा जेल परेका धनकुटाकै एकलव्य राईलाई उपचार गराउन जिल्ला अस्पताल ल्याउने क्रममा सुरक्षाकर्मीहरुका बीचबाट हतकडी खोलेर उनी फरार भएका थिए ।डाँका मुद्दामा ०६२ साल कात्तिक १९ गतेदेखि १२ वर्षे जेल सजाय भुक्तान गरिरहेका खड्काको सजाय भुक्तान हुन १५ महिना मात्र बाँकी थियो । अदालतले तोकेको जरिवाना ९४ हजार ५० रुपैयाँ बुझाउँदा उनी ०७४ कात्तिक १९ गते छुट्ने अवस्थामा थिए भने जरिवाना नबुझाए ०७८ कात्तिक १९ गतेसम्म जेल सजाय भोग्नुपर्ने थियो ।