siriyal killer_saptariराजविराज /  सप्तरी लगायत आसपासका जिल्लाको श्रृंखलावद्ध हत्या घटनामा संलग्न रही फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहा बगमरिया स्थाई घर भई सप्तरीको सारस्वर -७ मा वस्दै आएका मो. मस्तकिम भन्ने रईस मियाँ (२६) लाई प्रहरीले आईतवार काठमाण्डौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट पक्राउ गरेको हो । सप्तरी प्रहरीले सोमवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार रईसमाथि सप्तरीका ४ र सुनसरीका ३ गरी ७ जनाको हत्या गरेको आरोप छ । नेपाली नागरिता वनाई  ०७६५६६४३ नं. को राहदानी प्रयोग गरेर विदेश जाने तयारीमा रहेका मियाँलाई विमानस्थल प्रहरीको सहयोगमा पक्राउ गरिएको एसपी भिमप्रसाद ढकालले जानकारी दिए ।

हत्या श्रृखला ढकालका अनुसार मियाले मो सकिल हुसेनसँग मिलि २०६९ असोज १ गते सहबुद मियाँ र उनकी वुहारी (मो.आलमको श्रीमती) सगिरा खातुनको हत्या गरेका थिए । प्रहरीका अनुसार सकिल सोहि वखत फरार भई २ वर्षदेखि साउदी अरेवियामा छन् । रईस र सकिलले उनीहरुको हत्या गरी साथमा रहेको २ लाख ७६ हजार रुपैयाँ लुटेका थिए । प्रहरीले घटनाको अनुसन्धानका क्रममा दुवैको शव (कंकाल) कल्यायाणपुर ८ स्थित खाली जग्गामा खाल्टो खनी पुरेको अवस्थामा फेला पारेको थियो । यसैगरी, रईसले मो. सकिल हुसेन र गुल्जार मियाँसँग मिली २०७० सालको असोज/कार्तिकमा जण्डौल –६ बस्ने दुलारी देवी साहको हत्या गरेका थिए । कर्तव्य ज्यान सम्बन्धि मुद्दामा कारागारमा रहेका पति धिरेन्द्र साहलाई कारागार मुक्त गराउन भन्दै ६ लाख रुपैयाँ माग गरी एकान्त स्थलमा वोलाएर मियाँले दुलारीको हत्या गरी रकम समेत लुटेको एसपी ढकालको भनाई छ । दुलारी देवि साह वेपत्ता भएको करिव २ बर्षपछि प्रहरीले खोजतलास गर्दा जण्डौल–८ स्थित चुरे जंगलको फेदीमा २०७२ वैशाख २७ उनको कंकाल फेला परेको थियो । यस्तै रईसले मो.सकिल, अलाउद्धिन मियाँ, हजरुन खातुन, नसरुल मियाँ, समिना खातुन समेतसँग मिली  २०७० चैत्र १ गते राति त्रिकोल–५ बस्ने स्व.जय राम साहकी पत्नी निर्मला देवी साहको हत्या गरेका थिए । साहका छोरा दिपक कुमारलाई बैदेशिक रोजगारीमा पठाई दिने भन्दै उनीहरुले ३ लाख रुपैयाँ लिएर आउँदा उनको हत्या गरेको र रकम लुटेको प्रहरीको भनाई छ । उक्त हत्याका आरोपी मध्ये अलाउद्धिन मियाँ, हजरुन खातुन, नसरुल मियाँ, समिना खातुन यस अघिनै पक्राउ परि कारागारमा छन् ।

हत्याकाे सबै कारण रकम असुली पत्रकार सम्मेलनमा एसपी ढकालले दिएको जानकारी अनुसार रईसको संलग्नता सुनसरीको विभिन्न स्थानमा भएका ३ वटा हत्या घटनामा पनि भएको पाईएकोले अनुसन्धान भईरहेको छ । हत्याका सवै घटना रकमसँग जोडिएको पाईएकोले रकम लिने र साक्षी/प्रमाण मेटाउने उदेश्यले हत्या भएको रईसले स्विकारेको एसपी ढकालको भनाई छ । श्रृंखलावद्ध हत्या घटनाका अर्का मुख्य आरोपी मो. सकिल हुसेन हालसम्म फरार रही साउदी अरेवीयामा रहेकोले ईन्टरपोल मार्फत झिकाउने तयारी भईरहेको उनले वताए ।