राजविराज/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका ‘सिरियल किलर’ भारतीय नागरिक मोहम्मद मस्तकिम भनिने रइस मियाँले आफ्नै ससुरालाई बाबु बनाएर नेपाली नागरिकता लिएको पुष्टि भएको छ । ०७६५६६४३ नं. को राहदानी प्रयोग गरी विदेश भाग्न लागेको अवस्थामा विमानस्थल प्रहरीको समन्वयमा आइतबार मियाँलाई पक्राउ गरिएको हो ।मियाँले सप्तरीको सारस्वर–७ का नुराई मियाँका छोराका रुपमा २०६३ चैत १० गते नागरिकता टोलीमार्पmत् ०६३१०६÷४९० नम्बरको नागरिकता लिएको पाइएको छ । उनले वंशजको नागरिकता लिएको बोदेबर्साइन इलाका प्रशासन कार्यालयका प्रमुख अजय चौधरीले पनि पुष्टि गरे । स्थानीयका अनुसार उनी नुराइ मियाँका छोरा नभई साइँला ज्वाइँ हुन् ।

तीन छोरा र तीन छोरीका पिता नुराइकी साइँली छोरी भुखनी खातुनसँग दोस्रो विवाह गरेका भारतको मधुबनी जिल्ला लौकाहा बगमरिया ग्राम पञ्चायतका रइसले सोही नागरिकताका आधारमा दुईपटक राहदानी लिएको सप्तरी जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ । कार्यालयका अनुसार रइसका नामबाट ०६५ वैशाख ४ गते पहिलो राहदानी जारी भएको छ भने ०७० फागुन ११ गते दोस्रो राहदानी जारी भएको छ । पछिल्लो ०७६५६६४३ नम्बरको राहदानी प्रयोगी गरी भाग्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।उनको नागरिकताबारे छानविन र अनुसन्धान भइरहेको सप्तरीका एसपी भीमप्रसाद ढकालले जनाए । सीडीओ बलदेव गौतमले पनि नागरिकता छानविनको विषयलाई गम्भीरतापूर्वक अघि बढाइएको जनाउँदै संलग्न सबैलाई कारवाही हुने बताए ।सप्तरी र सुनसरीमा शृङ्खलाबद्ध हत्यामा संलग्न रही फरार रहेका रइसमाथि सप्तरीमा चार र सुनसरीमा तीन गरी सातजनाको हत्या गरेको आरोप छ । एसपी ढकालका अनुसार उनले मोहम्मद सकिल हुसैनसँग मिलेर २०६९ असोज १ गते स्थानीय सहबुद मियाँ र उनकी बुहारी (आलमकी श्रीमती) सगिरा खातुनको हत्या गरेका थिए । प्रहरीका अनुसार सकिल त्यसै बेला फरार भई दुई वर्षदेखि साउदी अरेबियामा छन् । रइस र सकिलले हत्या गरी उनको साथमा रहेको २ लाख ७६ हजार रुपैयाँ लुटेका थिए ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा दुवैको कङ्काल कल्यायाणपुर–८ स्थित खाली जग्गामा खाल्टो खनेर पुरेको अवस्थामा फेला पारेको थियो ।यसैगरी, रइसले सकिल र गुल्जार मियाँसँग मिलेर २०७० साल असोज–कात्तिकमा जन्डौल–६ की दुलारीदेवी साहको हत्या गरेका थिए । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कारागारमा रहेका पति धिरेन्द्र साहलाई कारागार मुक्त गराउन भन्दै ६ लाख रुपैयाँ माग गरी एकान्त स्थलमा बोलाएर उनले दुलारीको हत्या गरी रकमसमेत लुटेको एसपी ढकालको भनाइ छ । दुलारी वेपत्ता भएको करीब दुई वर्षपछि प्रहरीले खोजतलास गर्दा जन्डौल–८ स्थित चुरे जङ्गलको फेदीमा २०७२ वैशाख २७ गते उनको कङ्काल फेला परेको थियो । यस्तै रइसले सकिल, अलाउद्दीन मियाँ, हजरुन खातुन, नसरुल मियाँ, समिना खातुन समेतसँग मिलेर २०७० चैत १ गते राति त्रिकोल–५ का स्वर्गीय जयराम साहकी पत्नी निर्मलादेवी साहको हत्या गरेका थिए । छोरा दीपककुमारलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै उनीहरुले ३ लाख रुपैयाँ लिएर आउँदा निर्मलाको हत्या गरी रकम लुटेको प्रहरीको भनाइ छ । हत्याका आरोपीमध्ये अलाउद्दीन, हजरुन, नसरुल र समिना यसअघि नै पक्राउ परी कारागारमा छन् ।
एसपी ढकालले दिएको जानकारीअनुसार रइसको संलग्नता सुनसरीका विभिन्न स्थानमा भएका तीनवटा हत्याका घटनामा पनि भएको पाइएकोले अनुसन्धान भइरहेको छ । रकम लुटेपछि साक्षी–प्रमाण मेटाउने उद्देश्यले हत्या भएको रइसले स्वीकार गरेको एसपी ढकालले जनाए । हत्या घटनाका अर्का मुख्य आरोपी सकिल साउदी अरेबियामा रहेकाले इन्टरपोलमार्पmत् झिकाउने तयारी भइरहेको उनले बताए ।