भद्रपुर/मेची अञ्चलमा रहेर नक्कली सवारीचालक अनुमतिपत्र बनाउने ड्राइभिङ्ग इन्टिच्युटका सञ्चालक सहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न कागजात सहित पक्राउ गरेको छ । झापामा नक्कली सवारीचालक अनुमती पत्रको विषयमा करिब एक महिनाअघि ब्लाष्टमा समाचार सार्वजानिक भएसगै प्रहरीले गरेको अनुसन्धानमा उनिहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा गिरोहका नाइके वास्तोला ड्राइभिङ्ग इस्टीच्युटका सञ्चालक झापा विर्तामोड नगरपालिका ७ बस्ने ४३ बर्षिय खिलानाथ बास्तोला, गिरोहमै आवद्ध गरामनी गाविस ९ बस्ने २२ बर्षिय अनिल वास्कोटा, विर्तामोड ३ बस्ने ३२ विजय यादव, ४४ बर्षिय पूर्णप्रसाद श्रेष्ठ र गौरादह १३ बस्ने ३६ बर्षिय उमेशकुमार दास बैरागी रहेका छन् ।

lisan

त्यस्तै नक्कली लाइसेन्स बोक्ने पृथ्वीनगर ५ बस्ने ३२ बर्षिय यामकुमार महत, हल्दिवारी १ बस्ने २१ बर्षिय नविन आचार्य, भद्रपुर १५ बस्ने ४० बर्षिय कमिचन राजवंशी, हल्दिवारी १ बस्ने २७ बर्षिय सुनिल महतो र विर्तामोड ३ बस्ने ३२ बर्षिय विजय यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रहरी प्रवक्ता हरि प्रसाद शर्माले बताए । पक्राउ परेका नौ जना मध्ये चार जना नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध छन् भने पाँच जना नक्कली लाइसेन्स बोकेर सवारी चलाउने व्यक्ति रहेको अनुसन्धानमा खुलेको डिएसपी शर्माले बताए । समाचार सार्वजानिक पश्चात प्रहरी अधिकृतको नेतृत्वमा खटिएको टोलीले सेवाग्राही, दलाली लगायतका विभिन्न भेषमा परिचालित भई अनुसन्धानको कार्यलाई अगाढी बढाइएको शर्माले बताए । प्रहरीले भदौ पाँचमा विजय ,सातमा खिलानाथ, नौमा याम कुमार,एघारमा कमिचन र सुनिललाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी चौध गते अनिल,पुर्ण र उमेशलाई र पच्चिस गते नविनलाई नियन्त्रणमा लिएको शर्माले जनाए । उनीहरुलाई प्रहरीले झापाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यातायात कार्यालय विर्तामोड छेउवाट पक्राउ परेका उमेशवाट अनुमती पत्रको खाली कार्ड चार थान, होलोग्राम काटिएको अनुमती पत्र, रुट परमिट दुइ थान,अधिकृतछाप र यातायात व्यवस्था कार्यालयको छाप बरामद गरेको छ । अन्यको साथवाट मेची ,कोशी र बाग्मतीको नाममा बनाइएका नक्कली सवारी चालक अनुमती पत्र नौ थान समेत वरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये वास्तोलाले ६ हजार रुपैया लिएर विजयको लाइसेन्स बनाइदिएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । यस्ता गिरोहहरु अन्यपनि रहेको बुझिन आएकोले चाडैनै पक्राउ गर्नका लागी प्रहरी निरन्तर परिचालित भएको शर्माले बताए । पक्राउ परेकालाई अदालतमा म्याद थप गरी मुलुकी ऐनको किर्ते कागजको महलले हुनसक्ने एक देखि तिन वर्षसम्मको सजाय तोकिने व्यवस्था रहेको छ ।

गत २०६८ सालदेखि यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमति पत्रमा कडाई गर्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधन चेक जाँच कडा पारेपछि नक्कली लाइसेन्सको विगविगी बढेको थियो ।कार्यालयका कर्मचारी, डा«इभिङ् सेन्टर, कार्यालय वरिपरि यातायात सम्बन्धि काम गर्ने व्यवसायी र पेशेवर दलालीको संलग्नतामा व्यक्तिलाई नक्कली लाइसेन्स दिने गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेक जाँचको क्रममा विभिन्न स्थानवाट नक्कली लाइसेन्स फेला पारेपछि नक्कली लाइसेन्स वितरण हुने गरेको पुष्टि भएको थियो ।