पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार आज (बिहीबार) बिहान सप्तकोशीमा पानीको बहाव एक लाख १४ हजार सात सय ४५ क्यूसेक मापन गरिएको छ ।

यद्यपि बुधबार साँझसम्ममा २० वटा ढोका खोलिएको थियो । तर बहाव केही कम भएको भन्दै एउटा बन्द गरिएको छ ।

पहाडी क्षेत्रमा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण सप्तकोसीमा मिसिएका सात नदीसहित अरु विभिन्न खोलानाला बढेका छन् । जसको प्रभाव सप्तकोसी नदीमा परेको हो ।

पानीको बहाव बढ्न थालेपछि अहिलेसम्म कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । 

स्थानीय बासिन्दाले भने सप्तकोसीमा बहाव बढ्दो क्रममा रहेको जानकारी दिएका छन् । बुधबार बिहानसम्ममा १२ वटा मात्रै ढोका खोलिएका थिए । पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले अझ पानीको बहाव बढ्न सक्ने बताइएको छ । कोसी व्यारेजमा ५६ वटा ढोका रहेका छन् ।

उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी एसपी थापाले दिए । नदीको बहाव थप बढेर निम्त्याउनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा सक्रियता बढाइएको उनको भनाइ छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले कोसीमा पानीको सतह अझै बढ्नसक्ने अवस्था रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर नदी आसपासमा उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनका अनुसार सप्तकोसी आसपासका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह पनि गरिएको छ ।