महोत्तरी/स्थानीय तहले धार्मिकस्थलको सौन्दर्यीकरण, संरक्षण र सम्वद्र्धनमा ध्यान नदिएको भन्दै महोत्तरीको बलवा नगरपालिकाका युवाले हिलाम्य सडकमै धान रोपाइँ गरेका छन् ।
जिल्लाकै प्रसिद्ध धार्मिकस्थल बलवा–१० धमौरास्थित ध्रुवकुण्डको सौन्दर्यीकरणमा नगरपालिकाले चासो नदिएको भन्दै स्थानीय युवाले धमौराचोकबाट ध्रुवकुण्डसम्मको हिलाम्य सडकमा धान रोपाइँ गरेका हुन् । ध्रुवकुण्ड मिथिलाको प्रसिद्ध १५ दिने मिथिला माध्यमिकी परिक्रमाको छैठौं दिनको रात्री विश्रामस्थल हो ।
‘हाम्रा पौराणिक, धार्मिक र पुरातात्विक महत्वका स्थलहरु बेवारिस बनेका छन्’, स्थानीय ३० वर्षीय युवा धिरेन्द्रकुमार मण्डलले भने, ‘नगरप्रमुख र वडाअध्यक्ष बेखबर देखिन्छन् , उनीहरुको उदासिनताप्रति साङ्केतिक विरोध जनाउन ध्रुवकुण्ड जाने हिलाम्य सडकमा दुई दिनदेखि रोपाइँ गर्दैछौं ।’ यो साङ्केतिक विरोधमा दिनदिनै स्थानीय सहभागिता बढ्दै गएको त्यहींकै अर्का युवा आदर्श कर्ण बताउछन् ।
ध्रुवकुण्ड सत्ययुगमा कठोर तपस्यावलले तारामण्डलमा चम्किलो भएर रहने वरदान पाएका पौराणिक पात्र राजकुमार ध्रुवले तपस्या गरेको ठाउँ भएको विश्वास गरिन्छ । माध्यमिकी परिक्रमाको विश्रामस्थल पनि ध्रुवकै सम्झनामा हुने चलन बसेको स्थानीय बुढापाका बताउँछन् ।
‘यो प्रसिद्ध धार्मिकस्थलको विकासमा नगरपालिका, प्रदेश वा केन्द्र सरकार कसैले वास्ता देखाएन्’, धमौराका बासिन्दा ७५ वर्षीय सामाजिक, राजनीतिक कार्यकर्ता वासुदेव पासवान भन्नुहुन्छ, ‘सुन्दर, सफा र मनोरम हुनपर्ने ध्रुवकुण्ड खण्डहर झैं बनेको छ , सडक बाटा हिलाम्य छन् ।’ यसै अवस्थाको वोध गर्न स्थानीयतहको नेतृत्वलाई घचघच्याउन युवाले हिलो सडकमा धान रोप्नु परेको पासवान बताउछन् ।
बर्सेनी धार्मिकस्थललाई सौन्दर्यीकरण गर्न लाखौं बजेट विनियोजन र खर्च देखाइने गरेपनि काम फिट्टो नभएपछि आफ्नै नगर प्रतिनिधिप्रति व्यङ्ग्य गर्न हिलो सडकमा धान रोपिएको स्थानीय करिब ३० वर्षीय युवा दिपककुमार शर्माको भनाइ छ । ‘पुराना नेता नगरप्रमुख छन्, तर उनले यस्तो महत्वपूर्ण ठाउँको ख्याल गर्नु भएन’,नगरप्रमुख विनोद यादवप्रति शर्माप्रति उनको गुनासो थियो ।
यता नगरपालिकाले भने नगरभित्रका धार्मिकस्थल र जनसरोकारका कामहरुमा क्रमशः काम गरिरहेको जनाएको छ । ‘हामीसँग बजेट, स्रोत साधनको सीमितता छ, गरिनु पर्ने काम धेरै छन्’, नगरप्रमुख यादवले भने, ‘पछिल्लो असार लाग्दैको वर्षाले जताततै पानी भएको छ, यो मौसमको अप्ठ्यारो पनि हो ।’ यो सीमितताबीच पनि धार्मिकस्थलको सौन्दर्यीकरणका काम भने भएका यादवको दावी छ ।
धार्मिकस्थलमा भएका काममा पनि गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भएको युवाको गुनासो छ । ध्रुवकुण्डस्थित तलाउमा घाट निर्माणमा प्रयोग गरिएका इटा कमसल रहेका स्थानीयको आरोप छ । धमौराचोकदेखि ध्रुवकुण्डसम्म सडक उचो बनाएर कालोपत्रे गरिनु पर्ने, ढल व्यवस्थापन गरिनपर्ने र धार्मिकस्थलको थप सौन्दर्यीकरणका काम सर्वपक्षीय निगरानीमा हुन पर्ने युवाले माग गरेका छन् ।