विराटनगर/ मोरङको पूर्वी दक्षिण भेग नेपाल – भारत सीमा क्षेत्रमा थपिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) आफ्नै भवनमा सरेको छ । 

रंगेली नगरपालिका ५ धनापट्टीमा रहेको सशस्त्र प्रहरीको बिओपीको नवनिर्मित भवन तयार भएपछि मंगलबार एक कार्यक्रम आयोजना गरि सरेको हो । 
यसअघि सुनबर्षीको सिक्टी र रतुवामाई  नगरपालिकाको मिर्चाडाँगीमा बिओपी स्थापना  गरिएको थियो | 

स्थापना गरिएको बिओपीको भवन निर्माण बन्दैछ । स्थापना भएको तीन वटा बिओपी मध्ये रंगेलीको धनापट्टीको भवन तयार भएपछि रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहीनीका  नायब महानिरीक्षक डिआइजी बंशीराज दाहालले संयुक्त रुपमा नवनिर्मित भवनको उदघाटन गरे ।

६ कठ्ठा क्षेत्रफलमा बिओपीको भवन निमार्ण भएको हो । नवनिर्मित भवनको ४ कोठा रहेको छ । १ ब्यारेक र १ स्टोर रुम रहेको छ । रंगेली नगरपालिको १६ लाख सहयोग र सशस्त्र प्रहरीको श्रमदानमा भवन निर्माण भएको सशस्त्र प्रहरी रंगेली बिओपीका इन्सिपेक्टर कमल अधिकारीले जानकारी दिए । 

यसअघि मोरङमा सशस्त्र प्रहरीको सीमाक्षेत्रमा ८ वटा बिओपीले सीमा क्षेत्र र चोरी तस्करी रोक्दै आएको छ । सिक्टी बिओपीका लागि सुनबर्षी नगरपालिकाले १० कठ्ठा ऐलानी जग्गाका साथै भौतिक संरचना निर्माणका लागि ५ लाख बजेटसमेत उपलब्ध गराएको छ ।

यस्तै, मिर्चाडाँगीमा रतुवामाई नगरपालिकाले १० लाखको लाागतमा भौतिक संरचना निर्माण गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणकाा गणपति एसपी तिर्थ पौडेलले बताए । 

सशस्त्र प्रहरीका डिआयजी दाहालले सरकारले नेपाल भारत सीमा क्षेत्रमा १ सय १४ वटा थपेर २ सय २१ वटा  बिओपी पु¥याउने लक्ष्यअन्तर्गत मोरङमा तीन वटा बिओपी थपिएको बताए । योसँगै ६३ किलोमिटर नेपाल–भारत सीमा भएको मोरङमा बिओपीको संख्या ११ पुगेको छ ।

प्रदेश १ मा २२ वटा नयाँ बिओपी थपिएको दाहालले बताए । यस प्रदेशमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या ५२ र नेपाल–चीन सीमा क्षेत्रमा २ गरी ५४ वटा बिओपीको संख्या पुगेको उनले जानकारी दिए । 

सरकारले अब दोस्रो चरणमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या थपेर ५ सय पु¥याउने लक्ष्य लिएको र त्यसका लागि जग्गा छनौटको काम भइरहेको बताए । प्रदेश १ मा दोस्रो चरणमा बिओपीको संख्या थपिएर ७६ वटासम्म पुग्ने देखिएको दाहालले बताए ।

बिओपीको संख्या ७६ वटा पुगेपछि एउटा बिओपीदेखि अर्को बिओपीसम्मको दुरी ३ देखि ४ किलोमिटरमा झर्ने बताए । अहिले थपिएको बिओपीका लागि भएकै जनशक्तीले पुगेको तर अब थपिने बिओपीका लागि जनशक्ती समेत थपिनु पर्ने बताए । थप भएको बिओपीमा सहीको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन छन् ।