बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनमा लगाएको ठेक्काप्रति स्थानीय आन्दोलित बनेपछि नगरले छानबिन गर्न कार्यदल बनाएको छ । 

नगरले प्रक्रिया नपु¥याई ठेक्का लगाएको आन्दोलित स्थानीयको भनाइ छ । नगरले छानबिन गर्नका लागि उपप्रमुख पवित्रा महतारा प्रसाईंको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । सदस्यहरूमा वडा नं. २ का अध्यक्ष नगेन्द्र सङ्ग्रौला र वडा नं. ४ का अध्यक्ष कुलप्रसाद सङ्ग्रौला छन् ।

स्थानीयस्तरबाट विरोध भएपछि बुधबार बसेको जनप्रतिनिधिहरूको भेलाले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलले दुई साताभित्र प्रतिवेदन बुझाउने जनाइएको छ । स्थानीयले पारदर्शिता र प्रक्रियामाथि आशङ्का जाहेर गरेका छन् ।

विज्ञको सहायताले ठेक्का प्रक्रिया नियमसम्मत भए–नभएको छानबिन गरिने कार्यदलका सदस्य नगेन्द्र सङ्ग्रौलाले बताए । ‘टेण्डरमा हिनामिना गरेको छ कि छैन हामी त्यो खोज्छौं’ उनले भने, ‘टेण्डर हाल्दा रकम तलमाथि भएको पाइएमा टेण्डर खारेज गर्न सिफारिस गर्छौं ।’ बिर्तामोड नगरपालिकाको सातौं नगरपरिषद् बिहीबारदेखि सुरु हुँदैछ । 

आन्दोलित स्थानीयले नगरपरिषद्मा आफ्ना माग प्रस्तुत गर्ने जनाउँदै ती माग सम्बोधन नभए परिषद् चल्न नदिने चेतावनी दिए । उनीहरूले स्वास्थ्य बिमा र फोहोरमैला व्यवस्थापनको टेण्डर खारेज हुनुपर्ने, सार्वजनिक सरोकार र महत्वका हरेक सूचनाको जानकारी सम्पूर्ण वडा कार्यालय, सञ्चारमाध्यमलाई गराउनुपर्ने, नगरपालिकाका प्रत्येक सूचना नगरपालिका र वडा कार्यालयको सूचना पाटीमा अनिवार्य राख्नुपर्ने, नगरपालिकाले प्रकाशन र प्रसारण गर्ने सार्वजनिक महत्वका सम्पूर्ण सूचनाहरू स्थानीय सञ्चारमाध्यममा समेत प्रकाशन र प्रसारण गरिनुपर्ने लगायतका माग राखेका छन् ।


फोहोर व्यवस्थापनमा यसरी भयो झमेला 

बिर्तामोड नगरपालिकाले निषेधाज्ञाको समयमा स्थानीय सञ्चारमाध्यममा कुनै सार्वजनिक सूचना प्रकाशन नगरी काठमाडौंको निराकार सरसफाइ सेवा प्रालिलाई तीन वर्षका लागि फोहोर उठाउने जिम्मा दिएको थियो । नगरपालिकाले ल्याण्डफिल्ड साइडको व्यवस्थापन गरेपछि फोहोर उठाउने जिम्मा लिएको कम्पनीले हालसम्म काम सुरु गरेको छैन । हरेक पसल, प्रतिष्ठान र घरबाट फोहोर सङ्कलन गरेको शुल्क लिन पाउने सहमति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लगाएको यो ठेक्का अपारदर्शी भएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए ।

स्वास्थ्य बिमाः पहिलो गाँसमै ढुङ्गा

फोहोर व्यवस्थापनका लागि ठेक्का लागेकै समयमा स्वास्थ्य बिमाको औषधि आपूर्तिका लागि ‘काली माँ’ फार्मेसीलाई ठेक्का दिने निर्णय गरेपछि विरोध भएको थियो । बिर्तामोडमा सञ्चालनमा नरहेको सो फार्मेसी दर्ता भने बिर्तामोडमै रहेको छ ।

नगरपालिकाका कर्मचारी तथा कोभिड फोकल पर्सन ओम खड्काले आफ्ना नातेदारको नाममा दर्ता गरेको सो फर्म औषधि आपूर्तिका लागि छनौट भएपछि विरोध सुरु भएको थियो । स्थानीय सञ्चारमाध्यममा सूचना प्रकाशन नगरी भित्रभित्रै ठेक्का प्रक्रिया मिलाइएको नगरमाथि आरोप लागेको छ ।

३६ लाख ६० हजार रूपैयाँमा काली माँ फार्मेसीलाई औषधि आपूर्तिका लागि ठेक्का परेको नगरपालिकाका सूचना प्रविधि अधिकृत जयराम चम्लागाईंले बताएका थिए । गत वैशाखमा १२ लाख रुपैयाँ न्यूनतम् अङ्क राखेर आह्वान गरिएको सूचना बमोजिम तीनवटा फार्मेसीले फर्म दर्ता गरेको बताउँदै उनले सर्वाधिक अङ्क काली माँ फार्मेसीको परेको हुनाले त्यही फर्म छनौट गरिएको बताए ।

नगरपालिकाले पहिलोपटक स्वास्थ्य बिमाको औषधि वितरणका लागि प्रक्रिया सुरु गरेको थियो । नगरका कर्मचारी र केही जनप्रतिनिधिको मिलेमतोमा सुटुक्क फर्म छनौट गरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । कार्यदलले औषधि आपूर्तिको विषयमा पनि छानबिन गर्ने भएको छ ।